कोभिड खोपका लागि विश्व बैंकद्वारा नेपाललाई ७.५ करोड अमेरिकी डलर वित्त सहयोग



काठमाडौं,चैत २१ । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड- १९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर ( करीब ८ दशमलव ७ अर्ब नेपाली रूपैयाँ ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतामा सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय- सान्दर्भिक सहयोग पुर्‍याउने अर्थसचिव शिशीर कुमार ढुंगानाले बताए ।

उनका अनुसार कोभिड- १९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड- १९ विरुद्धका खोपहरूको खरीदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोपसेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ।”

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलव ९ करोड अमेरिकी डलर (३ दशमलव ३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड- १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीआयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्ने छन्।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरीद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड- १९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ ।

कोभिड- १९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाईलाई पनि बढावा दिनेछ । 

कोभिड – १९  विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूकोसमतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण रहेको  विश्व बैंकका राष्ट्रिय निर्देशकले बताए ।

उनका अनुसार विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारीप्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ। 

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको  ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।

यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड- १९ का खोपहरूको खरीद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

यस वित्तीय सहयोग विश्व बैंक समूह स्तरिय बृहत कोभिड- १९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सृजना गर्न सहयोग गरिरहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्