कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन



काठमाडौं,चैत २० । पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत पारेको छ ।

चैतसम्म पनि पूर्वतयारीको काम पूरा गर्न नसकेका आयोजनाको बजेट फिर्ता हुन्छ । पछिल्ला वर्षहरूमा बजेट नै खर्च नगर्ने र, आर्थिक वर्षको अन्त्यमा फिर्ता गर्ने प्रवृत्ति बढ्दै गएको अर्थका अधिकारीहरू बताउँछन् ।

आर्थिक वर्षको अन्त्यमा बजेट फिर्ता गर्ने प्रवृत्तिले सरकारी अधिकारीहरूको बजेट विनियोजन क्षमतामा नै प्रश्न उठेपछि खर्च गर्न नसक्ने खालका कार्यक्रम बजेटमा पेश नै नगर्न मन्त्रालयहरूलाई अर्थले निर्देशन दिएको छ । ‘बजेट सरेन्डर गर्ने परिपाटी धेरै समयदेखि रहिरह्यो, यस्तो प्रवृत्तिलाई आगामी वर्षबाटै हटाउनुपर्छ भन्ने मनसायले अर्थमन्त्रीले अहिले कडाइ गर्नुभएको छ,’ बजेट निर्माणमा सहभागी अर्थका एक उच्च अधिकारीले अभियानलाई भने ।

उनका अनुसार अर्थमन्त्री विष्णु पौडेलले मन्त्री तथा सचिवहरूलाई कार्यान्वयन हुन नसक्ने बजेट प्रस्ताव नगर्न बजेट तर्जुमाका लागि जुटिरहेका अधिकारीहरूलाई सचेत गराइरहेका छन् ।

बजेट तर्जुमासम्बन्धी बिहीवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मन्त्री पौडेलले गरेको छलफलमा समेत यही विषयलाई उनले पटकपटक दोहोर्‍याए ।

आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्री पौडेलले आग्रह गरे ।

‘कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरू र सोहीअनुसार बजेट मात्रै प्रस्ताव हुनुपर्छ, वर्षेनि ठूलो बजेट खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था छ, बहुवर्षीय योजनाहरूमा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राखौं, खर्च नहुने अनुमानको बजेट राख्दै नराखौं,’ उनको भनाइ थियो ।

उनले सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने बताउँदै बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताएका थिए । उनका अनुसार मन्त्रालयहरूले प्राथमिकताका आधारमा कार्यक्रमहरू प्रस्ताव गर्र्नुपर्छ । अन्तरमन्त्रालयबीच समन्वयको अभावमा पनि बजेट विनियोजनमा समस्या देखिँदै आएको भन्दै ध्यान दिन उनले आग्रह गरे ।

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षामा समेत मन्त्री पौडेलले बजेट विनियोजन र कार्यान्वयन क्षमता कमजोर हुनुको कारण खोजिनुपर्ने बताएका थिए । उनले मातहतका निकायलाई बजेट कार्यान्वयन हुन नसकी सरेन्डर गर्नुपर्ने अवस्था किन निम्तिँदै छ ? यसमा गम्भीर हुन समेत निर्देशन दिएका थिए ।

अर्थमन्त्री पौडेलले बजेटको दुरुपयोग हुन नहुने भन्दै बजेट निर्माणका बेला प्राथमिकता निर्धारणमा ख्याल गर्नसमेत अधिकारीहरूलाई सचेत गराएका थिए । उनले खर्च गर्ने प्रणालीमा अवरोध रहे पहिचान गरी हटाउन अर्थ मन्त्रालय तयार रहेको समेत बताएका थिए ।

संस्कृतिमन्त्री भानुभक्त ढकालसहितका मन्त्रालयका अधिकारीहरूको बिहीवारको छलफलमा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्नेगरी बजेट प्रस्ताव हुनुपर्नेमा मन्त्री पौडेलले जोड दिएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्