नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि महानगरले ६ करोड दिने



काठमाडौँ, चैत १९ । नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि काठमाडौँ महानगरले छ करोड रुपैयाँ दिने भएको छ । काठमाडौ महानगर र प्रभावित बीच छलफलका क्रममा बुधबार उक्त निर्णय भएको हो।

यही चैत १३ गतेदेखि फोहरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राख्दै फोहर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए। महानगर र प्रभावितबीच भएको छलफलमा महानगर प्रमुख विद्यासुन्दर शक्यले आवश्यक व्यवस्थापनका निम्ति रु छ करोड दिने बताएका हुन् ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन-तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शय्या र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने बताए ।

प्रभावित क्षेत्रमध्ये कामपाले ककनी गाउँपालिकाका लागि यसअघि एम्बलुलेन्स उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त समेत गरिने भएको छ ।

छलफलमा नुवाकोट जिल्लाका प्रदेशसभा सदस्य बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, ककनी र धुनीबेँशी नगरको प्रभावित क्षेत्रका वडाध्यक्ष, स्थानीय राजनीतिक प्रतिनिधि र स्थानीय सरोकारवाला प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्