सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले गर्यो निवेदन दर्ता



काठमाडौं,चैत १७। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले पुनरवलोकनका लागि निवेदन दर्ता गरेको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष कमल दाहाल (प्रचण्ड)सहित नेताहरु सर्वोच्चमा पुगेर निवेदन दर्ता गराएका हुन ।

निवेदन दर्ता गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले पुनरवलोकनको गरेर यथार्थ सार्वजनिक हुने बताए । उनले रिट निवेदकले नाम मात्रको विषयमा निवेदन दिएकोमा अदालतले रिट बाहिर गएर निर्णय गरेकोमा यथार्थ सार्वजनिक गर्न पुनरवलोकन हुने विश्वास व्यक्त गरे । एकता भैसकेको दल विभाजित हुने किसिमको अदालतको कदम अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रवृतिको भएको बताउँदै पुनरावलोकनको लागि शीर्षस्थ नेताहरू नै अदालत पुगेको उनले जानकारी दिए।

मंगलबार बाहान ११:४० बजे सर्वोच्च अदालतमा पुनरवलोकनका लागि निवेदन दिन सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्षस्थ नेताहरू सर्वोच्च अदालतमा पुगेका थिए । उनिसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षामान पुन, पम्फा भुसाललगायत सहभागी थिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते एकता बदर गरिदिएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्