गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो



काठमाडौं,चैत १७। गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो ।

कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाको होलसेल व्यापार गर्दै आएका राकेस सापकोटाले गर्मी बढेसँगै काठमाडौं बाहिरका शहरबाट समेत व्यापारीहरू कपडा किन्न काठमाडौं आउने क्रम बढेको बताए ।

गतवर्ष गर्मी मौसम शुरू हुने बेलामा नै नेपालमा कोरोनाको संक्रमण रोक्न बन्दाबन्दी भएपछि तयारी कपडाको व्यापार ठप्प हुन पुगेको थियो । तर, यस वर्ष भने कपडाको व्यापार राम्रो हुने आशा रहेको सापकोटाले बताए । उनका अनुसार वैशाख महीनामा गर्मी मौसमका कपडाको व्यापार सबै भन्दा बढी हुने भए पनि अहिलेदेखि नै कपडा किन्न ग्राहकको भीड लाग्न थालिसकेको छ ।

माग बढ्दै गएपछि यति बेला तयारी पोशाक व्यापारीहरूले चीन, भारत, थाइल्यान्ड, इन्डोनेशियालगायतका देशबाट कपडाको आयात बढाएका छन् । कोरोना महामारीका कारण आयातकर्ता व्यापारीहरू कपडा आयातका लागि आपैm विदेश जान सक्ने अवस्था नभएपछि उनीहरूले अनलाइनमा कपडाको डिजाइन हेरेर एजेन्टमार्पmत कपडा किनिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठले डलरको भाउ र कन्टेनरको भाडादर बढेकाले त्यसको असर कपडाको मूल्यमा समेत पर्न गई मूल्य बढेको बताए । उनका अनुसार यसअघि ७ सय रुपैयाँ पर्ने टीशर्टको मूल्य अहिले १ हजार रुपैयाँसम्म पर्न थालेको छ ।

यति बेला रसुवागढी नाका केही सहज भएकाले चीनबाट कपडा आयात गर्न सजिलो भएको पनि उनले बताए । यसबाहेक समुद्री मार्ग र हवाइमार्गबाट समेत सामान आयात भइरहेको उनले जानकारी दिए । नेपाली व्यापारीहरूले हरेक वर्ष करीब ४ अर्ब रुपैयाँ बराबरको गर्मीका लागि आवश्यक पर्ने तयारी कपडाहरू आयात गर्ने गर्छन् । यसमध्ये करीब ४० प्रतिशत कपडा भारतबाट, २० प्रतिशत चीनबाट र बाँकी ४० प्रतिशत कपडा अन्य मुलुकबाट आयात हुने गरेको व्यापारीहरू बताउँछन् । बन्दाबन्दीका कारण विदेशबाट तयारी कपडा आयातमा कमी आउँदा पछिल्लो समय नेपाली उत्पादनका कपडाले बजार पाएको थियो । तर, अहिले पुनः विदेशी कपडा आयात हुन थालेपछि भने नेपाली उत्पादनको बजार घट्न सक्ने बताइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्