पूर्वाधारका १५ सय आयोजनाको म्याद थप भएन



काठमाडौं,चैत १७ । पूर्वाधार निर्माणका साना ठूला गरी १ हजार ५०० भन्दा बढी आयोजना म्याद थपबाट वञ्चित भएको पाइएको छ । सरकारले चैतदेखि भदौसम्म बन्दाबन्दीको अवधि मानी निर्माणाधीन र सोही अवधिभित्र म्याद सकिएका आयोजनाको हकमा मात्रै लागू हुने गरी गत माघ दोस्रो हप्ता ६ महीनाका लागि म्याद थप गरिदिएको थियो । तर, भदौदेखि यता र माघसम्ममा म्याद सकिएका ठेक्काहरूले भने यस्तो सुविधा पाउन सकेका छैनन् ।

२०७६ चैतदेखि साउन र त्यसको १ महीनासम्म कोरोना भाइरस (कोभिड–१९)लाई न्यूनीकरण गर्न सरकारले बन्दाबन्दी र निषेधाज्ञा जारी गरेको थियो । यसबीचमा पूर्वाधार निर्माण प्रभावित भएको भन्दै सरकारले ६ महीना म्याद थप्ने निर्णय गत असारमा गरेको थियो । यो निर्णय त्यसको ७ महीनापछि कार्यान्वयन गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघले भदौदेखि माघको पहिलो हप्तासम्म म्याद सकिएका ती १ हजार ५ सय आयोजनामा यो निर्णय कार्यान्वयन नभएको उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले ती आयोेजनाको पनि पुनः म्याद थप्न आग्रह गर्ने तयारी भएको बताए । ठेक्काको म्याद नसकिएका आयोजनाको म्याद थपमा कुनै समस्या नभएकाले म्याद थपका लागि सरकारसँग आग्रह गरिने उनले बताए । असारमा म्याद थपको निर्णय कार्यान्वयन भएको भए अहिले यी आयोजनाको पनि म्याद थप हुने थियो भन्दै सिंहले भने, ‘हामीले बन्दाबन्दी अर्थात् चैतदेखि मङ्सिर (२०७७) सम्मलाई शून्य समय मानेर म्याद थप गर्न माग ग¥यौं तर त्यसमा सरकारले कुनै चासो नदिँदा पटकपटक यस विषयमा अल्झिनु परेको छ ।’ म्याद थप भएका झन्डै ६ हजार आयोजनामध्ये १ हजार ५ सय आयोजनामा मात्रै म्याद थप कार्यान्वयन हुन नसकेको हो । म्याद थप्दाको अतिरिक्त लागतको भार सरकारलाई नपर्ने र अन्य कुनै प्रकारको माग दाबी गर्न नपाउने गरी सम्बद्ध निकायले म्याद थप्नुपर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्