डढेलोले बढायो वायु प्रदूषण



काठमाडौं, चैत १५ । डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न वनमा लागेको डढेलोको धुवाँ र धुलोका कारण वायु प्रदूषण बढेको हो। अहिले उपत्यका आसपास, धादिङ, हेटौंडा, चितवन, पोखरा, तनहुँ, नवलपुर, गोरखा, खोटाङ, ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत जिल्लाका वनमा डढेलो लागेको छ।

काठमाडौं उपत्यकामा शुक्रबार एकाएक बढेको वायु प्रदूषण शनिबार दिउँसो केही घटेको छ। शनिबार दिउँसो भैंसेपाटीमा रहेको वायु प्रदूषण मापक स्टेसनले वायुको गुणस्तर सूचकांक २ सय ९८ देखाएको छ। यसैगरी रत्नपार्कमा वायुको गुणस्तर सूचकांक १ सय ९८ रह्यो। यो सूचकांक शुक्रबार भैंसेपाटीमा ४ सय ४७ थियो भने रत्नपार्कमा २ सयको हाराहारीमा थियो।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले शुक्रबारको तुलनमा शनिबार काठमाडौंको वायु प्रदूषणमा हल्का कमी आएको बताए। मौमसविद्हरूले सोमबारदेखि मात्र काठमाडौंको आकाशमा देखिएको धुवाँ, धुलो र तुवाँलो हट्ने अनुमान गरेका छन्।

मौसमविद् मञ्जु भासीले पनि शुक्रबारको तुलनामा शनिबार प्रदूषणमा थोरै कमी आए पनि काठमाडौंको वायु प्रदूषण मानव जीवनका लागि अझै हानिकारक रहेको बताइन्। ‘शुक्रबारको तुलनमा शनिबार केही थोरै कमी भए पनि मानव जीवनका लागि अझै हानिकारिक नै छ,’ उनले भनिन्। वातावरणविद्ले यसबेला सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सल्लाह दिएका छन्। निस्कनै परे मास्क लगाउन उनीहरूको सुझाव छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्