फागुको व्यापार घट्यो



काठमाडौं,चैत १५ । कोरोना माहामारीको त्रासका कारण फागुको व्यापार घटेको छ । त्रासकै कारण यस पर्वमा अत्यधिक रूपमा व्यापार हुने रंग, होली लेखिएको टी–शर्ट, पिचकारी, बेलुनलगायत सामग्रीको व्यापार घटेको हो । विगतका वर्षहरूमा भन्दा यस वर्षको फागुमा यस्ता सामग्रीको व्यापार करीब ५० प्रतिशतभन्दा बढीले घटेको बताइएको छ ।

कालीमाटीमा फागुका लागि आवश्यक सामग्रीको व्यापार गरिरहेका रामनारायण यादवले यस वर्षको फागुमा यस्ता सामग्रीको व्यापार खासै नभएको बताए । सिजनअनुसारको व्यापार गरेर गुजारा चलाउने उनले भने, ‘पहिला-पहिला फागु पूर्णिमा नजिकिँदै गर्दा १ दिनमै १५ देखि २० हजार रुपैयाँको सामान विक्री गर्थें तर गतवर्षको होलीदेखि नै व्यापार घट्यो । यस वर्ष पनि व्यापार छैन । अहिले त दिनमा १० हजारको व्यापार हुन पनि सकेको छैन ।’

केही समयअघि कोरोनाको त्रास केही कम भएकाले यस वर्ष त व्यापार बढ्छ होला भन्ने मनसायले उनले १ लाख रुपैयाँको फागुका सामग्री आयात गरेका थिए । तर, फागु नजिकिँदै गर्दा भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा समेत त्यसको असर पर्न सक्ने भन्दै सरकारले सावधानी अपनाउन भनेपछि मानिसहरूमा त्रास बढेकाले व्यापारमा कमी आएको हुन सक्ने उनको अनुमान छ । उनले आयात गरेका सामानमध्ये शनिवार बेलुकासम्म ५० देखि ६० हजार रुपैयाँसम्मको मात्र विक्री हुन सक्ने उनले बताए ।

नेपालमा फागुका लागि आवश्यक पर्ने रंग, पिचकारीलगायत सामग्री भारतबाट आयात हुने गर्छ । ती सामान व्यापारीहरूले १ महीनाअघि नै किनेर ल्याउने गर्छन् । होली लेखिएका टी–शर्टचाहिँ प्रायः नेपालमै उत्पादन हुने गर्छन् ।

यस वर्ष होलीको व्यापार घटेकोमा आफू पनि सहमत भएको असनका व्यापारी कृष्ण दुलालले बताए । उनले यस अघिका वर्षहरूमा जस्तो होली सामग्रीको खरीद धेरै गरेनन् । उनीसँग अघिल्लो वर्ष नै विक्री नभएका करीब २० हजार रुपैयाँका होली टी–शर्ट र पिचकारी बाँकी थिए । त्यसैले उनले यस वर्ष ६० हजार रुपैयाँ बराबरको सामान मात्र राखेका थिए । शनिवार दिउँसोसम्म ३५ हजार रुपैयाँ जतिको मात्रै सामान विक्री भएको र बेलुकासम्म ४५ हजार रुपैयाँसम्मको विक्री हुने आशा रहेको उनले बताए ।

उनको पसलमा सीतापाइलाबाट रंग र टी–शर्ट किन्न आएका प्रदीप अधिकारीले पछिल्लो समय बढ्दै गएको कोरोना त्रासका कारण फागुको उत्साह खासै नभएको बताए । ‘कोरोना नभएको भए त निकै रमाइलो हुन्थ्यो । गतवर्ष पनि घरपरिवारमै फागु खेलिएको थियो । यस वर्ष पनि त्यस्तै हुने त होला,’ उनले भने । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्