शिवपुरीको कुम्भेश्वर मन्दिरमा मेला शुरु



स्थानीय झाक्री नाच्न प्रदर्शनका तयारीमा

नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर मन्दिरमा मेला शुरु भएको छ।

हरेक वर्ष फागु पुर्णिामाको अघिल्लो दिन शुरु हुने मेला यो वर्ष पनि शुरु भएको हो। चापाबोट नजिकै बोहोरे खोलामा रहेको गुफामा महादेव विराजमान रहेको कथनसहित हरेक वर्ष मेला मनाउने गरिएको स्थानीय शिक्षक अर्जुन तामाङले साझापथलाई बताए।

तामाङका अनुसार हरेक वर्ष स्थानीय झाक्रीहरुले गाउँदेखि गुफासम्म आफ्नो नाच देखाउदै महादेवलाई खुशी पार्ने चलन छ। स्थानीयले नाचगानसहित रातभर जाग्राम बसी मेला भर्ने गरेको र गुफा नजिकैको देवीलाई भोग दिई पुर्णिामाका दिन मेला समापन गरिने शिक्षक तामाङले बताए।

पञ्चकन्याको भद्रुटारमा पनि मेला

फागु पुर्णिामाको अवसरमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा पनि मेला लागेको छ। भद्रुटारको चुहानडाडामा अवस्थित सेतीदेवी मन्दिर परिसर र फुर्केसल्लाको सुन्दरास्थानमा मेला लागेको हो।

श्रद्धालु भक्तजन्हरुले दिनभर व्रत बसी साँझ मन्दिरमा दीप प्रज्वलन गर्ने गरेको वडा नम्बर ५ का अध्यक्ष मदु थापाले बताए। पछिल्लो समयमा मन्दिर निर्माणका लागि वडाले विभिन्न मन्दिरलाई बजेट समेत विनियोजन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्