रसुवामा डढेलो, सावधानीपूर्वक यात्रा गर्न आग्रह



रसुवा, चैत १४ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएपनि यस्ले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे सजग हुन अनुरोध गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले स्याफ्रुबेँसी – हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन अनुरोध गरिएको हो ।

बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ । यदि यात्रा गर्नैपर्ने अवस्था आए होशियारीपूर्वक हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षाका समयमा झर्न सक्ने ढुङ्गाले नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण छ । लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्