सरकारको भनाइ : मासु र अण्डामा मुलुक आत्मनिर्भर



काठमाडौं,चैत १३ । मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको छ । बिहीवार काठमाडौंमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको छ ।

विश्व खाद्य तथा कृषि संगठनले प्रतिवर्ष प्रतिव्यक्ति न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु र ४८ गोटा अण्डा उपभोगको सिफारिश गरेकोमा नेपालमा अहिले प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८ दशमलव १ किलो मासु, र ६१ गोटा अण्डाको उपलब्धता प्राप्त भएसँगै मासुजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको बताइएको छ । दूधमा भने नेपाल आत्मनिर्भरतातर्फ उन्मुख छ ।

घोषणा कार्यक्रममा प्रमुख अतिथि तथा प्रधानमन्त्री केपी ओलीले मुलुकलाई एउटा क्षेत्रमा भए पनि एक कदम अघि बढाउन सफल भएकोमा पशुपन्छी उत्पादक किसान तथा व्यवसायीलाई धन्यवाद दिनुभयो । अब मुलुकलाई रेमिट्यान्सबाट चलाउनेभन्दा पनि आफ्ना उत्पादनलाई विदेश निर्यात गर्ने अवस्थामा पुर्‍याएर देशमै रोजगारी वृद्धि गर्नेतर्पm बढी जोड दिन सबैलाई आग्रह गर्नुभयो । ‘हरेक दिन मुलुकलाई एक कदम अघि बढाउने नेपाल सरकारको सोचअनुरूप यो पनि एक महत्त्वपूर्ण पाइला हो,’ उहाँले भन्नुभयो । हाल देशमा २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हालको प्रचलित बजार मूल्य अनुसार करीब १ खर्ब २२ अर्ब रुपैयाँ दूधबाट, करीब २ खर्ब ७५ अर्ब रुपैयाँ मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको खाद्य वस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले अहिले मासु र अण्डामा आत्मनिर्भर हुनु शुरुआत मात्र भएको र अबको केही समयमै दूध तथा माछापालनमा समेत आत्मनिर्भर घोषणा गरिने दाबी गरिन् । अबको ५ वर्षमा कृषि क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर र निर्यातसमेत गर्ने गरी योजना बनाई मन्त्रालय अघि बढेको उनले बताइन् । प्रधानमन्त्री केपी ओलीद्वारा पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा भएको छ । यसका साथै, दूध ढुवानीका लागि प्रतीक  चिह्न (लोगो)को समुद्घाटन, धूलो दूधको नयाँ प्याकेजको अनावरणका साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्