निकुञ्जको भन्दै अवरोध गरिएको छहरे-टोखा सडक अन्तर्गतको सिस्नेरी खण्ड स्तरोन्नति शुरु



सडक स्तरोन्नतिका क्रममा

नुवाकोट,चैत १२ । निकुञ्जको भन्दै अवरोध गरिएको छहरे-टोखा सडक अन्तर्गतको सिस्नेरी खण्ड स्तरोन्नति शुरु भएको छ। सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्य निकुञ्ज क्षेत्रको हुनसक्ने भन्दै अवरोध सिर्जना गरिएको थियो । भीरको चट्टान काट्नुपर्ने भएकाले सवारी आवतजावत नै बन्द गरी निर्माण थालेको १० घण्टा नबित्दै यसअघि शिवपुरी राष्ट्रिय निकुञ्जको बफरजन क्षेत्रका कर्मचारीले डोजरको साचो खोसेका थिए ।

डोजरको चाबी खोसिए लगत्तै जिल्ला सडक डिभिजन कार्यालय नुवाकोटका डाइरेक्टर नारायणदत्त भण्डारीसहितको एक टोली समन्वय पत्रसहित राष्ट्रिय निकुञ्जको कार्यालय पुगेका थिए। सडक खण्ड निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाकी सुजिता शाक्यले समन्वय भैसकेको तर सो क्षेत्र निकुञ्ज क्षेत्र नभएको बताइन्। उनले भनिन् -‘काम सुचारु भैसकेको छ,अब काम कसरी राम्रो र चाडो सक्ने भनेर हामी लागिसक्यौ।’

बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

निर्माण अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सडक निर्माणमा सहयोग गर्न सबैलाई सडक डिभिजन कार्यालय नुवाकोटले अनुरोध गरेको छ।

छहरे सडक खण्डको चापाबोट नजिकै अल्छे ढुङ्गा- वडा कार्यालय-ग्रामीणदेवी माध्यमिक विद्यालय हुँदै थानाभञ्ज्याङको वैकल्पिक मार्ग प्रयोग गर्न डिभिजन कार्यालयले अनुरोध गरेको हो।

वैकल्पिक मार्गमा डोजर लगाई साना तथा भाडाका सवारी साधन चल्न सक्ने बनाई सकिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्