वीरगञ्ज भन्सार नाका : निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व



वीरगञ्ज,चैत १२ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मुख्य नाका वीरगञ्जबाट निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व रहेको छ । यो नाकाबाट भटमास र सूर्यमुखी प्रशोधित तेल उल्लेख्य परिमाणमा निकासी भएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो ।

चालू आवको साउनदेखि फागुनसम्म नै भटमासको तेल निकासी सूचीको एक नम्बरमा परेको छ । वीरगञ्ज भन्सार नाकाबाट ८ महीनामा २६ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा सबैभन्दा बढी योगदान यही उत्पादनको देखिन्छ ।

सो अवधिमा १५ अर्ब ४४ करोड रुपैयाँबराबरको भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए । निर्यात व्यापारमा सबैभन्दा बढी योगदान खाने तेलकै रहेको उनले बताए ।

गत आवको सोही अवधिमा ४ अर्ब ८४ करोड रुपैयाँबराबरको ३७ हजार १३८ मेट्रिकटन यस्तो तेल निकासी भएको थियो । यस वर्ष यस्तो परिमाण १ लाख ८८८ मेट्रिकटन पुगेको छ ।

सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ । चालू आवको फागुनसम्ममा ७३ करोड रुपैयाँबराबरको ४ हजार ८८९ मेट्रिकटन सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निकासी २० मेट्रिकटन मात्रै थियो । गत आवमा प्रशोधित पाम तेल सर्वाधिक निकासी भएको थियो । भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योग भटमास र सूर्यमुखी तेलमा केन्द्रित भएका हुन् ।

यो नाकाबाट जुस, जामको निकासी घटेको छ । गतवर्ष ३ करोड ५१ लाख लिटर जुस निर्यात भएकोमा यो वर्ष ३ करोड २९ लाख लिटरमा झरेको छ । जमोठ कपडाको निर्यात भने बढेको छ । सो अवधिमा यस्तो कपडा ८२५ मेट्रिकटन निकासी भएको भन्सारको तथ्यांक छ ।

वीरगञ्जबाट बत्तीसा त्रिफला, च्यवनप्रास, दन्तमञ्जन, सेन्थेटिक यार्न, स्पोटर्स सुज, ऊनी गलैंचा कार्पेट, तयारी कपडालगायत उत्पादन निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा यो नाकाबाट निर्यात व्यापार करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको तथ्यांकले देखाएको छ । निकासीको अधिकांश अंश भारतीय बजारमा गएको छ । कुल २६ अर्ब रुपैयाँको वस्तु निर्यातमध्ये २३ अर्ब ७७ करोड रुपैयाँबराबरको निकासी भारतमा भएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्