सीमा नाकामा गम्भीर बेवास्ता



काठमाडौं, चैत ११ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।

नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।

‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । १० चैत २०७६ देखि नेपाल–भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो ।

फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्