विद्युतीय सामग्रीहरूको मूल्य बढ्यो



काठमाडौं,चैत ११ । बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर आएको व्यापारीहरूको भनाइ छ ।

विद्युतीय सामग्रीहरूमा प्रयोग हुने कपर, आल्मुनियम, आइरन र पीभीसीलगायत कच्चा पदार्थहरूको मूल्य बढेका कारण अहिले यस्ता सामग्रीको मूल्य बढेको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन न्यौपानेले बताए । उनका अनुसार हाल यस्ता कच्चा पदार्थको मूल्य करीब दुई गुनासम्मले बढ्दा ती सामग्रीको मूल्य पनि सोही दरमा बढेको छ ।

बन्दाबन्दीको समयभन्दा अघि प्रतिटन ४ हजार ८ सय अमेरीकी डलर पर्ने तामाको मूल्य यति बेला बढेर ९ हजार डलरसम्म पुगेको छ । त्यसैगरी प्रतिकिलो १ सय ८ रुपैयाँ पर्ने पिभिसिको मूल्य १ सय ६० रुपैयाँ पुगेको छ । विभिन्न किसिमका तार, केबुल, पंखा, स्वीचलगायतका अधिकांश सामग्रीमा आल्मुनियम, कपर र पीभीसीको प्रयोग गरिएको हुन्छ ।

त्यसैगरी ल्यापटप तथा मोबाइलमा प्रयोग हुने ब्याट्री चार्जर, हेडफोनलगायत सामानको मूल्यमा पनि करीब २ गुनाले वृद्धि भएको बताइएको छ । बन्दाबन्दी अघि ३ हजार रपैयाँ पर्ने डेल कम्पनीको ल्यापटपको ब्याट्रीको मूल्य यति बेला ७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी ७ सय रुपैयाँ पर्ने डेल ल्यापटप चार्जरको मूल्य हाल १५ रुपैयाँ पुगेको छ । यसअघि ४ सय रुपैयाँ पर्ने हेडफोनको मूल्य पनि २ सय रुपैयाँले बढेर ६ सय रुपैयाँ पुगको छ ।

मूल्य बढ्नुमा अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धिसँगै सामान आयात गर्दा लाग्ने भाडादर बढ्नु कारण रहेको व्यवसायीको भनाइ छ । त्यस्तै, उत्तरी नाका खुल्ने तथा बन्द हुने अनिश्चितता पनि मुख्य कारकका रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूले यसअघि विद्युतीय सामग्रीको आयात विशेष गरी केरुङ र तातो पानि नाकामार्फत गर्ने गरेका थिए । ‘उक्त दुई नाकाबाट सामान आउने निश्चितता नहुँदा हामीहरूले पानीजहाजमार्फत भारतको कोलकाता र विशाखापत्तनम् बन्दगाह हुँदै सामान आयात गर्नुपरेको छ । यसो गर्दा लामो समय लाग्ने र भाडादर पनि बढी लाग्ने गर्छ,’ टेक्नो कम्प्युटर न्यूरोडका व्यापारी राजु श्रेष्ठले भने ।

उनका अनुसार अहिले भारतीय बाटो हुँदै सामान आयात गर्दा कन्टेनरको भाडादर पनि सामान्य अवस्थाको बेलाभन्दा करीब २ गुनाले बढेको छ । यसरी सामान आयात गर्दा बढी समय लाग्नुका साथै सामान बिग्रने, फुट्ने सम्भावना पनि छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्