युवकको हत्या गरेको आरोपमा रुपन्देहीमा चारजना पक्राउ



बुटवल,चैत १०। रुपन्देहीका एक युवकको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही सिदार्थ नगरपालिका–९ का घनश्याम कोइरीलाई हत्या गरी फालेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने १९ वर्षीय रहेमान अली सोही स्थानका २६ वर्षीय सुनिल गुरूङ, २८ वर्षीय मुख्तार पठान र सिद्धार्थनगर १२ बस्ने २१ वर्षीय धर्मराज अहिर रहेका छन् । उनीहरुले फागुन २ गते लागूऔषध सेवन गरी विवाद हुँदा कोइरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले कोइरीको हत्या गरी उनको शवलाई गहुँ खेतमा फालिदिएका थिए । बिहिबार बेवारिसे अवस्थामा भेटिएको शवको अनुसन्धान गर्दै जाँदा शुक्रबार ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पर्सौनी स्थित परासी भैरहवा सडकदेखि उत्तरतर्फको गहुँ खेतमा बेवारिसे अवस्थामा शव फेला परेको थियो । सिद्धार्थनगर नगरपालिका–९ बस्ने ३६ वर्षीय शिला कोइरीले शव आफ्नो श्रीमानको भएको बताएकी छिन् । शिलाले प्रहरी सामू दिएको बयानका आधारमा चार जनालाई नियन्त्रणमा लिइएको हो ।

यस्तो छ हत्या हुनुको कारण :

प्रहरीकाअनुसार आठ महिनाअगाडि मृतकको परिवार र आरोपित सुनिल गुरुङको परिवारबीच सामान्य झै–झगडा भएको थियो । उक्त विवादपछि प्रहरी कार्यालयमा गत साउन १३ गते मिलापत्र गरेको रेकर्ड फेला परेको छ । मृतक र आरोपहरूबीच समय समयमा सामान्य वादविवाद हुने गरेको थियोे । आरोपित चारैजना लागू–औषध दुर्व्यसनीमा संलग्न रहेको प्रहरीको भनाई छ । लागूऔषध सेवनपछि भएको विवादका कारण कोइरीको हत्या भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्