राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै



काठमाडौं, चैत १० । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी समझदारी र आगामी दिन गर्न सकिने सहकार्य विषयमा छलफलसमेत भएको छ । दुईदिने भ्रमणमा दुई देशको राष्ट्रपतिको उपस्थितिमा पर्यटन सहकार्य विषयमा हस्ताक्षर गर्ने कार्यक्रम छ । जसअन्तर्गत सार्क मुलुक बंगलादेशबाट पर्यटन भियाउन विराटनगर नाका प्रयोग गर्न सक्ने र हवाई सेवा पहुँच दिने विषय छलफल केन्द्रित हुनेछ ।

बंगलादेशी पर्यटक नेपाल भित्र्याउन सहज व्यवस्था गर्न दुई देशका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर गरिने जनाइएको छ । हाल बंगलादेशी पर्यटक स्थलमार्गबाट नेपाल आए पनि पुनः भारतबाट प्रवेश गरेर बंगलादेश जान सक्ने अवस्था छैन । यसका लागि बंगलादेशी पर्यटकले भिसा लिएर हवाई उडानमार्फत स्वदेश फर्कनुपर्ने बाध्यता छ ।

नेपालमा सहज आउने र जाने वातावरण बनाउन भारतसँग सहजीकरण गर्नुपर्छ । बंगलादेशबाट सिधंै विराटनगर आउने व्यवस्था मिलाउन विराटनगरमा क्षेत्रीय विमानस्थलको अवधारणा ल्याउन लागिएको छ ।

शहीदपुरदेखि विराटनगरबीचको हवाई सम्पर्क हुने र यसका लागि आधारभूत पूर्वाधार ६ महिनाभित्र तयार पार्नेगरी सम्झौता गर्न लागिएको हो । त्यस्तै, नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीले आपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण बनाउन अर्को सम्झौता गर्ने तयारी छ ।

नेपाल–बंगलादेश स्यानेटरी र फाइटो स्यानेटरीमा सहकार्यबारे सम्झौतासमेत गर्न लागिएको छ  । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई निवारणका लागि अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने विषय सम्झौतामा केन्द्रित छ ।

यसैगरी, रोहनपुरदेखि सिंहबादसम्मलाई ‘ट्रान्जिट रुट’का रूपमा प्रयोग गर्ने सहकार्यबारे सम्झौता गर्ने विषयमा छलफल केन्द्रित हुने छ । अहिले नेपालले बंगलादेशबाट चटगाउँ र मंगला बन्दरगाह प्रयोग गरिरहेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्