छहरे-टोखा सडकखण्ड निर्माणमा अवरोध, राष्ट्रिय निकुञ्जले डोजरको साचो खोस्यो



नुवाकोट,चैत ९ । सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्यमा अवरोध सिर्जना भएको छ। भीरको चट्टान काट्नुपर्ने भएकाले सवारी आवतजावत बन्द गरी निर्माण थालेको १० घण्टा नबित्दै शिवपुरी राष्ट्रिय निकुञ्जले अवरोध गरेको हो। राष्ट्रिय निकुञ्जको बफरजन क्षेत्र भन्दै निकुञ्जका कर्मचारीले डोजरको साचो खोसेका छन ।

दिनभर काममा लागिरहेको डोजरको चाबी खोसिएको भन्दै सो सडक खण्ड निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाकी सुजिता शाक्यले आश्चर्य प्रकट गरिन। उनले साझापथसंग भनिन् -‘हामीले बनाउने जिम्मा पाएका हौं, बनाउछौ तर यहाँका प्राविधिक तथा व्यवहारिक पक्षले दुख पाइयो।’

शिवपुरी राष्ट्रिय निकुञ्ज बफरजन क्षेत्रका अध्यक्ष सुजन गुरुङले भने निकुञ्जसंगको विना स्वीकृति काम थालनीको उजुरीका आधारमा डोजर रोकेको बताए। नियमत निकुञ्ज सेवा क्षेत्रमा कुनै कार्य गर्नु अघि निकुञ्जसंग अनुमति लिनुपर्ने निकुञ्जका अङ्कबहादुर नेपाली बताउँछन्। सडक डिभिजन कार्यलय बीच समन्वय लगत्तै काम सुचारु हुने उनले बताए।

सडक निर्माणका लागि यसअघि कार्यालयले चैत ५ गतेदेखि बन्द गरी निर्माण कार्य अगाडि बढाउने सूचना जारी गरेको थियो।प्राविधिक कारणवस केहि दिन ढिलाइ भएको भन्दै निर्माणको ठेक्का पाएको सिसन निर्माण प्रालिले सोमबारदेखि सडक पुर्ण रूपमा बन्द गरी निर्माण कार्यलाई अगाडि बढाएको थियो।

आइतबारदेखि भीर खन्ने काम सुरु भएतापनि सोमबारदेखि ब्रेकरसहित कर्मचारी खटिएका थिए । यसअघि साघुरो बाटो छेउ फलामको बार लगाएर सवारी आवातजावत कायम गरिएको सो खण्ड १० मिटरको सडक कायम गर्न भीर काट्न लागिएको हो। त्यस्का निम्ति कुल ४० लाख रकम विनियोजन भएको छ। भीर काट्दै जादा चट्टानको प्रकृति र निर्माण समय आकलन गर्न सकिने निर्माण सेवाकी शाक्यको भनाइ छ । यद्यपि स्थानीयले बैकल्पिक बाटो प्रयोग गरी साथ दिएमा दिनरात नभनी तोकिएको समयमा निर्माण कार्य सक्ने निर्माण सेवाले वचन दिएको छ।

स्थानीय भन्छन् ‘बाटो बन्द हुनु भएन ‘

सडक निर्माण अवधिमा सडकखण्ड बन्द हुन नहुने स्थानीयले बताउदै आएका छन्। वैकल्पिक सडकका रुपमा कायम भएको चापको बोट नजिकै अल्छे ढुङ्गा- सुनखानी ग्रामीणदेवी विद्यालयहुँदै थानाभञ्ज्याङ् छिचोल्ने सडकमा ठुला बस तथा हेभी सवारीसाधन चल्न नसक्ने भन्दै समय समयमा सडक सुचारु गर्नुपर्ने उनीहरुको माग छ। रातको समयमा सडक निर्माण गर्न उनीहरुले सुझाव दिदै आएका छन् । तर साविक सडक साघुरो र भीर काट्नुपर्ने भएकाले रातको समयमा निर्माण र दिनको समयमा आवागमन कठिन हुने निर्माण सेवाले बताउदै आएको छ। चट्टानयुक्त क्षेत्र भएकाले ब्रेकरसंगै ढुङ्गा खस्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि समेत बाटो बन्द गर्नुपरेको कम्पनीले जनाएको छ।

सडक स्तरोन्नति योजनापूर्व सरोकारवालासंग छलफल

निर्माण भैरहेको सिस्नेरी भीर सडकबारे सरोकारवालासंग यसअघि नै छलफल भैसकेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका इन्जिनियर रामप्रसाद पौडेलका अनुसार जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङको नेतृत्वमा एक टोलीले सडक अनुगमन गरी बैकल्पिक सडक स्तरोन्नति लगायतका बारेमा निर्णय गरिसकेको बताइएको छ।

सडक निर्माणलाई बाधा पुर्याउनु बिकासलाई लत्याउनु बराबर भएकाले आम जनसमुदाय सबैले सहयोग गरिदिन पनि सडक डिभिजन कार्यालय नुवाकोटले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्