राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान



काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमबार बङ्गलादेश प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान गरेकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरेकी हुन् ।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छिन । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्ने छन् । त्यस्तै राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्