छहरे-टोखा सडकखण्ड पुर्ण रुपमा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध



पहरा धमाधम भत्काइदै

नुवाकोट,चैत ९ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा बन्द भएको छ। सडकमार्गको सिस्नेरी भीरमा सडक स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।

यसअघि कार्यालयले चैत ५ गतेदेखि बन्द गरी निर्माण कार्य अगाडि बढाउने सूचना जारी गरेको थियो।प्राविधिक कारणवस केहि दिन ढिलाइ गर्दै सोमबारदेखि सडक पुर्ण रूपमा बन्द गरी निर्माण कार्यलाई अगाडि बढाउन लागिएको सो खण्ड निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाकी सुजिता शाक्यले बताइन्। उनले साझापथसंग भनिन् – ‘बाधा अवरोधका बाबजुद पनि निर्माणका गतिलाई अगाडि बढाएका छौं यस ठाउँको बिकासका निम्ति सबैको साथ र सपोर्ट चाहियो।’

आइतबारदेखि भीर खन्ने काम सुरु भएतापनि सोमबारदेखि ब्रेकरसहित कर्मचारी खटिएका छन् । यसअघि साघुरो बाटो छेउ फलामको बार लगाएर सवारी आवातजावत कायम गरिएको सो खण्ड १० मिटरको सडक कायम गर्न भीर काट्न लागिएको हो। त्यस्का निम्ति कुल ४० लाख रकम विनियोजन भएको छ।

भीर काट्दै जादा चट्टानको प्रकृति र निर्माण समय आकलन गर्न सकिने निर्माण सेवाकी शाक्यले बताइन्। यद्यपि स्थानीयले बैकल्पिक बाटो प्रयोग गरी साथ दिएमा दिनरात नभनी तोकिएको समयमा निर्माण कार्य सक्ने निर्माण सेवाले वचन दिएको छ।

स्थानीय भन्छन् ‘बाटो बन्द हुँदैन ‘

सडक निर्माण अवधिमा सडकखण्ड बन्द गर्न नहुने स्थानीयले बताउदै आएका छन्। वैकल्पिक सडकका रुपमा कायम भएको चापको बोट नजिकै अल्छे ढुङ्गा- सुनखानी ग्रामीणदेवी विद्यालयहुँदै थानाभञ्ज्याङ् छिचोल्ने सडकमा ठुला बस तथा हेभी सवारीसाधन चल्न नसक्ने भन्दै समय समयमा सडक सुचारु गर्नुपर्ने उनीहरुको माग छ।

रातको समयमा सडक निर्माण गर्न स्थानीयहरुले सुझाव दिदै आएका छन् । तर साविक सडक साघुरो र भीर काट्नुपर्ने भएकाले रातको समयमा निर्माण र दिनको समयमा आवागमन कठिन हुने निर्माण सेवाले बताउदै आएको छ। चट्टानयुक्त क्षेत्र भएकाले ब्रेकरसंगै ढुङ्गा खस्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि समेत बाटो बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ।

सडक स्तरोन्नति योजनापूर्व सरोकारवालासंग छलफल

निर्माण भैरहेको सिस्नेरी भीर सडकबारे सरोकारवालासंग यसअघि नै छलफल भैसकेको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका इन्जिनियर रामप्रसाद पौडेलका अनुसार जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङको नेतृत्वमा एक टोलीले सडक अनुगमन गरी बैकल्पिक सडक स्तरोन्नति लगायतका बारेमा निर्णय गरिसकेको बताइएको छ।

सडक निर्माणलाई बाधा पुर्याउनु बिकासलाई लत्याउनु बराबर भएकाले आम जनसमुदाय सबैले सहयोग गरिदिन पनि सडक डिभिजन कार्यालय नुवाकोटले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्