सावधान ! दोस्रो लहरको कोरोना जोखिम बढ्यो, सर्तक रहनुहोस्



काठमाडौं, चैत ९ । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।

यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।

केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालमा दोस्रो लहर भित्रिने बताए । उनले भने, ‘भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरुरी छ । संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदीले भिडभाडमा बस्दा संक्रमण फैलिने भन्दै सचेत रहनुपर्ने बताए । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार केही दिनयता भारतका महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, उत्तरप्रदेशमा संक्रमण दर बढ्दो छ । यसैबीच, सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ ।

संक्रमण दर घटे पनि जोखिम कायम नै रहेकाले संक्रमणको दोस्रो लहर आउन सक्ने देखिएको छ । संक्रमण दर घटेको देखिएपछि केही दिनयता आम नागरिकले जनस्वास्थ्यका मापदण्ड मिच्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको समुचित प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम राख्नुपर्ने बताउँदै आए पनि कार्यान्वयनमा आउन भने सकेको छैन ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्