वीरगञ्ज नाका : घट्यो आयात, बढ्यो निर्यात



वीरगञ्ज,चैत ९ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महीनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात व्यापार घटेको छ । यो भन्सारबाट आयात ११ अर्ब रुपैयाँले घट्दा निर्यात करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको सूचना प्रविधि शाखाको तथ्यांक छ ।

चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा यो नाकाबाट ३ खर्ब ६ अर्ब रुपैयाँ मूल्यबराबरको मालसामान भित्रिएको छ । अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

‘चालू आर्थिक वर्षको ८ महीनामा यो नाकाबाट आयात व्यापार करीब ४ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात व्यापारमा तुलनात्मक सुधार देखिएको छ । निकासी व्यापार १० प्रतिशतले बढेको छ,’ सुकमनीले भने ।

अघिल्लो वर्ष यो भन्सार हुँदै २३ अर्ब रुपैयाँ बराबरको मालसामान निकासी भएको थियो । यो वर्ष निर्यातकर्ताहरूले २६ अर्ब रुपैयाँको वस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी गरेको भन्सारको तथ्यांक छ । वीरगञ्जबाट मुख्य रुपमा भटमास र सूर्यमुखीको तेल, जुस जाम, कपडा, जुत्ता, पिना, धागो, दन्तमञ्जन, गलैंचा, कार्पेटलगायतका वस्तु निकासी भएको छ । आयाततर्फ इन्धन, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख छन् ।

चालू आवको ८ महीनामा यो भन्सारले १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो रकम लक्ष्यको तुलनामा ७ प्रतिशत न्यून भएको भन्सारको लेखा शाखाले जानकारी दिएको छ ।

भन्सारले १ खर्ब १३ अर्ब रुपैयाँको लक्ष्य पाएको थियो । कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दीले शुरूमा महीना आयातनिर्यात प्रभावित भएकाले राजस्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकारीहरू बताउँछन् । पछिल्ला केही महीना व्यापार लयमा फर्किएकाले सुधार आएको दाबी उनीहरूको छ । बितेको फागुनमा यो भन्सारले लक्ष्यको तुलनामा १९ प्रतिशत बढी राजस्व उठाएको छ । आर्थिक अभियानबाट  

प्रतिक्रिया दिनुहोस्