मस्र्याङ्दी नदीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते



लमजुङ, चैत ८ । बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक दुर्घटनाग्रस्त भएको छ।सो दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

लमजुङको बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार सो सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियोे। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार दुर्घटनामा छ जनाको मृत्यु र दुई गम्भीर घाइते भएको बताएका छन ।

सो ट्रक टुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताए।

उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्