उत्पादन घट्दा कखुराको मासुको मूल्य बढ्यो



काठमाडौं,चैत ८ । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ ।

मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ ।

मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताए । उनका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको छ ।

बन्दाबन्दीका समयमा नेपाली कुखुरा व्यवसायीले विदेशबाट माउ (प्यारेन्ट) चल्लाको आयात गर्न नसक्दा चल्ला उत्पादन घटेकाले तयारी कुखुराको उत्पादनसमेत घट्न गएको हो । ‘यसले नेपाली मासु बजारमा करीब ६ महिनासम्म असर गर्ने छ,’ उनले भने ।

नेपालमा दैनिक ५ लाख किलो मासुको माग हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासुको खपत हुने गर्छ । तर, मासुको उत्पादन भने ४० प्रतिशतसम्म घटेको बताइएको छ ।

उत्पादन घटेर चल्लाको अभाव बढ्दै गएपछि बोइलर चल्लाको मूल्यसमेत बढेको छ । प्रतिचल्ला ७० रुपैयाँबाट ९५ रुपैयाँ सम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेर्यस चल्लाको मूल्य अहिले १ सय ७० रुपैयाँ पुगेको छ ।

ह्याचरी उद्योग संघका अनुसार अहिले बजारमा प्रतिहप्ता १७ लाख चल्लाको अभाव रहेको छ । प्रतिहप्ता ४५ लाख चल्लाको माग भए पनि हाल २८ लाख चल्लाको मात्रै उत्पादन रहेको छ ।

संघका अध्यक्ष रविन पुरीका अनुसार दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थ भटमासलगायत अन्य औषधिहरूको मूल्य बढेका कारण दानाको मूल्य बढाइएको हो ।

करीब २ सातामा भटमासको मूल्यमा प्रतिकिलो ३ रुपैयाँ सम्मले वृद्धि भएको छ । अहिले भटमासको मूल्य प्रतिकिलो ८३ रुपैयाँ कायम छ । यस अघि बी जिरो दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, बी वान दानाको मूल्य प्रतिकिलो ६१ रुपैयाँ र बि टु दानाको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले यी सबैको मूल्य प्रतिकिलो २ रुपैयाँको दरले बढाइएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरीका, ब्राजिल र भारतलगायत देशबाट आयात गर्ने गरिन्छ । वार्षिक रूपमा दाना बनाउन प्रयोग गरिने ९९ प्रतिशत भटमास र ७० प्रतिशत मकै बाह्य मुलुकबाट नै आयात गर्नुपर्ने अवस्था रहेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्