बालुवाटार बैठक: गुट भेलामा जानेलाई कारबाही गर्ने



काठमाडौं,चैत ५ । नेकपा एमालेको संसदीय दलको बैठकले गुट भेला नगर्न र पार्टीबाहेक कोही कसैको निर्देशन नमान्‍न सांसदहरुलाई अनुरोध गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक कसैले बोलाएपनि भेलामा नजान सांसदहरुलाई आह्वान गरेको हो ।

तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाईएको छ ।

यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्