हनुमानढोका सङ्ग्रहालय पुनः सञ्चालन



काठमाडौं, चैत ५ । विनाशकारी भूकम्प गएको पाँच वर्षपछि हनुमानढोका दरबार सङ्ग्रहालयमा ऐतिहासिक महत्वका सुनचाँदीका सिक्कासहितका दुर्लभ गरगहना र मुकुटलगायतको सरसामान सर्वसाधारणले हेर्न पाउने भएका छन् । सङ्ग्रहालयमा हाल सोमबार, बिहीबार र शनिबार गरी साताको तीन दिनसम्म दिउँसो २ बजेपछि आउने अवलोकनकर्ताले प्रदर्शनी हेर्न सक्ने छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले प्रदर्शनीमा राखिएका सुनचाँदी, तामा, पित्तलका गरगहना, मूर्ति, मुकुट अध्ययन अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि नेपालको इतिहासका बारेमा खोज अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विसं। २०६८ साल असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे र फरास खानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा फलामको सेफमा भेटिएका ऐतिहासिक, पुरातात्विक वस्तु प्रदर्शनमा राखिएका छन् । ती अमूल्य सम्पदालाई यस प्रदर्शनीमार्फत सर्वसाधारणले हेर्ने अवसर मिलेको छ ।

हनुमानढोका दरबार क्षेत्रका भवनमा भूकम्पले निकै क्षति पु¥याएका कारण बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्ने त्यस क्षेत्र ओझेलमा परेको थियो । कोरोना भाइरस महामारीका कारण सङ्कटमा परेको पर्यटनलाई पुनः गति दिने लक्ष्यसहित प्रदर्शन सुरु गरिएको हो ।

सङ्ग्रहालय प्रवेश गर्नेबित्तिकै देखिने मयूर पङ्खा (प्वाँख) डिजाइनमा बनाइएको श्रीकृष्ण भगवान्को मूर्तिमा लगाउने पाँच थान माणिक जडित सुनको मुकुट र सानो–ठूलो ६० थान हीरा जडित कलात्मक चाँदीको मुकुटले सबैको ध्यान खिच्छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्