चक्रपथमा फ्लाईओभर बनाउन बजेट सुनिश्चित गरिँदै



काठमाडौं,चैत ५ । मोनोरेल, मेट्रोरेलजस्ता पूर्वाधार बनाउने योजनाले रोकिएको चक्रपथको फ्लाईओभर निर्माण अघि बढाउने तयारी भएको छ ।

काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्काेमा फ्लाईओभर बनाउने निश्चित भएसँगै सडक विभागले स्रोत सुनिश्चित गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने भएको हो ।

पहिलो चरणमा बन्ने यस फ्लाईओभरका लागि विभागले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ग्वार्काेमा फ्लाईओभर बनाउन अर्थ मन्त्रालयमा फाइल पठाउने तयारी गरेको हो । विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले योजनाको अध्ययन सम्पन्न भए पनि फ्लाईओभर निर्माणका लागि हाल बजेट नभएको बताए ।

शुरूमा बन्ने ग्वार्काे फ्लाईओभरका लागि करीब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने देखिएकाले त्यसको स्रोत सुनिश्चित गर्न भौतिकमार्फत अर्थ मन्त्रालयमा बजेट माग गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘त्यसका लागि यही साता अर्थमा फाइल पठाउने तयारी छ,’ जैसीले भने, ‘अर्थले बजेट सुनिश्चित गरेपछि टेन्डर आह्वान गरिनेछ । निर्माणको काम साढे २ वर्षभित्र सम्पन्न गर्न लक्ष्य छ ।’ ग्वार्काेमा निर्माण हुने फ्लाईओभरको दूरी ३५ मीटर हुनेछ भने दायाँबायाँबाट उक्लने रेम्प १५०/१५० मिटर गरी कुल ३३५ मीटर लामो हुनेछ ।

सातदोबाटो र एकान्तकुनाको डिजाइन फाइनल गर्न बाँकी छ । यस खण्डमा लामो फ्लाईओभर बनाउनुपर्ने र लागत पनि बढी हुने देखिएकाले पहिलो चरणमा ग्वार्काेमा बनाउन लागिएको हो ।

फ्लाईओभर निर्माणका लागि अध्ययन शुरू गर्दा चक्रपथमा विभिन्न निकायका विभिन्न परियोजना अघि बढाउने घोषणाले योजना नै जुधेका थिए । यद्यपि विभिन्न निकायबीच मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि ग्वार्काेमा फ्लाईओभर बन्ने निश्चित भएको छ ।

चीन सरकारको सहयोगमा ८ लेनमा विस्तार भइसकेको उक्त सडकमा हुने दुर्घटना, ट्राफिक जाम हटाउन ती स्थानमा फ्लाईओभर तथा अन्डरपासजस्ता पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । फ्लाईओभर निर्माणमा अनुभव नभएकाले पनि अहिले पाइलट प्रोजेक्टको रूपमा ग्वार्काे फ्लाइओभरलाई अघि सारिएको छ ।

सातदोबाटो र एकान्तकुनाको चोकमा बन्ने फ्लाईओभर निर्माणका लागि भने केही समय पर्खिनुपर्ने भएको छ । चक्रपथको तीन खण्डमा पनि अधिक ट्राफिक जाम हुने गर्छ । यातायात सहज रूपमा सञ्चालन गर्न र सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ फ्लाईओभर निर्माणलाई अघि बढाइने भएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्