सिमानामा सवारी आवागमन खोल्न माग



काठमाडौं,चैत ५ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघले भारतीय सिमानाबाट सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । यी संस्थाहरूले बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको सीमानाकाबाट सवारी आवागमन हालसम्म पनि नखुलाउँदा होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको व्यवसायीको गुनासो छ । भारतसँग सीमा जोडिएका वीरगञ्जलगायत नाकाबाट सवारीसाधन आउजाउमा रोक लगाइएकाले भारतीय र भारत भएर स्थलमार्गबाट नेपाल आउने पर्यटक आउन नसकेको व्यवसायीले बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले भारतीय सीमाबाट सवारीसाधनको आवागमन चाँडै खोल्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले जानकारी दिए ।

बन्दाबन्दी खुलेपछि अन्य उद्यम व्यवसाय स्वाभाविक गतिमा फर्किन लागेको अवस्थामा सीमानाकामा सवारी आवागमनलाई अनुमति नदिइएकाले होटल र पर्यटन व्यवसाय झन् थला परेको ज्ञापनपत्रमा उल्लेख छ । भारतीय पर्यटकको भरमा खुलेका सीमावर्ती बजारका होटल सवारी आउजाउ नखुल्दा नराम्ररी प्रभावित भएको व्यवसायीको भनाइ छ ।

वीरगञ्ज क्षेत्रमा मात्रै करीब २ हजार ५०० जना होटल व्यवसायको रोजगारीमा आबद्ध रहेकोमा तिनको जीविका संकटमा परेको पन्तले बताए । यो क्षेत्रमा होटल तथा पर्यटनसम्बन्धी व्यवसायमा भएको करीब सवा ६ अर्ब रुपैयाँको लागानी डुब्ने अवस्थामा पुगेको पनि उनको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानहरू शुरू भइरहेको र स्थलमार्गका भारतीय सीमानाकाबाट अन्य आवागमन भइरहेको अवस्थामा सवारीसाधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको पर्यटन पत्रकार संघका राधेश्याम पटेलले बताए ।

सीमा पूर्णरूपमा सञ्चालन नभएसम्म भारतबाट पर्यटकको आवागमन सहज नहुने व्यवसायीको भनाइ छ । वीरगञ्जलगायत सीमा क्षेत्रका होटलको ७० देखि ८० प्रतिशत व्यवसाय भारतीय पाहुनामाथि नै निर्भर रहेको बताइएको छ । भारतीय पाहुना नआएपछि सञ्चालन खर्च पनि धान्न समस्या परेको गुनासो व्यवसायीको छ ।

व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई पनि भेटेका छन् । सो अवसरमा उनीहरूले सीमावर्ती क्षेत्रका होटल र पर्यटन व्यवसायका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराएका छन् । ढकालसँगको भेटमा सीमाक्षेत्रका होटल र पर्यटनको सम्भाव्यता दोहन र समस्या समाधानका विषयमा छलफल भएको अध्यक्ष पन्तले बताए । मन्त्री ढकालले सरकार पर्यटन प्रवर्द्धन र यसका उपायहरूमा व्यववसायीसँग सहकार्यका लागि सधैं तत्पर रहेको बताएको छलफलमा सहभागी व्यवसायीले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्