दोस्रो मात्राको खोप कार्यक्रम स्थगित



काठमाडौं,चैत ५ । माघ १४ देखि फागुन ११ गतेसम्म कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । खोप अभावका कारण उक्त कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना खोपको पहिलो मात्रा लिएका व्यक्तिले २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ । मन्त्रालयले खोप उपलब्ध भएमा फागुनभित्रै दोस्रो चरणको खोप लगाउन शुरू गर्ने तयारी गरेको थियो । तर, समयमै खोप किन्न नसकेपछि उनीहरूलाई दोस्रो चरणको खोप वैशाख ७ देखि १० गतेसम्म लगाउने निर्णय मन्त्रालयले गरेको छ ।

बुधवार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएम) बैठकले पहिलो प्राथमिकताअन्तर्गत प्रथम र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई वैसाखमा दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो । अक्सफोर्ड विश्वविद्यालय–अस्त्रजेनेकाले विकास गरेर तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । पहिलो र दोस्रो प्राथमिकतामा परेकालाई मन्त्रालयले सोही खोप लगाएको थियो ।

सरकारले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्ष माथिकालाई खोप लगाएकोमा चैत ४ देखि ५५ देखि ६४ वर्षसम्मका व्यक्तिलाई लगाउने तयारी गरेको थियो । तत्काल उक्त समूहलाई लगाउने खोप कार्यक्रम पनि स्थगित गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘नयाँ खोप आएपछि उक्त समूह र विस्तारै बाँकी रहेकालाई खोप लगाउँछौं,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पहिलो चरणको खोप लगाएको २८ दिनपछि र ८४ दिनभित्र दोस्रो मात्राको खोप लगाइसक्नुपर्छ, अर्थात् सरकारले वैशाखमा दोस्रो मात्राको खोप लगाइसक्नुपर्ने हुन्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्