जितगढी (बटौली) युद्ध संग्रहालय निर्माण कार्य सुरु



बुटवल,चैत ४ । अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लामा युद्ध संग्रहालय निर्माणको काम अगाडि बढेको छ।

बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको हो । यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी (बटौली) युद्ध संग्रहालयको बुधबार एक समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयो ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ । जस अन्तरर्गत युद्ध संग्राहलय पनि एक हो । करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो ।

यो संग्राहलय बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको करिब तीन कट्ठा जग्गामा बन्दैछ । संग्रहालय चार तलाको हुने छ । शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, कार्यपालिका सदस्यहरु, इन्जिनियर, निर्माण कम्पनी, राजनीतिक दलका नेताहरु, सञ्चारकर्मी र नागरिक अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्