सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु



सिन्धुली,चैत ४ । जिल्लाको कमलामाई नगरपालिका ७ करङडाडामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सिन्धुलीमाढी बजारबाट यात्रु लिएर कमलामाई नगरपालिका ७ बासकटेरी जादै गरेको बा १७ च १११७ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको हो। कमलामाई नगरपालिका ७ करङडाडाकै भित्ता स्थित ग्रामीण कच्ची सडकदेखि झण्डै चालिस मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी दिए । १ जना भने गाडी अनियन्त्रित हुन थालेपछि हाम फालेर शकुसल बच्न सफल भएको एसपी तिमिल्सिनाले बताए ।

मृत्यु हुनेमा सिन्धुलीकै कमलामाई नगरपालिका ७ बासकटेरीका अन्दाजी ६५ वर्षीय रुद्रबहादुर थापा, सोही स्थानकी १८ वर्षीया रिता एस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका दुई वर्षीय छोरा मनिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै घाइतेहुनेहरुमा बासकटेरीकै बलेरो चालक ३८ वर्षीय  भोजविक्रम थापा, २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया  शान्तीमाया थिङ, २२ वर्षीया  कविता श्रेष्ठ, ५०वर्षीया सुनमाया थिङ, ३० वर्षीया  सुकुमाया पुलामी उनकै छोरा बर्ष २ का रेमन पुलामी र सोही ठाँउकी २८ वर्षीया विनिता श्रेष्ठ रहेका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्