उपभोक्ता मुद्रास्फीति ४२ महीनायताकै कम
निर्यातको वृद्धिदर खुम्चियो



काठमाडौं,चैत ४ । मुलुकमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४२ महीनाकै कम देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा मुद्रास्फीति २ दशमलव ७० प्रतिशतमा सीमित रहेको छ ।  यसअघि सबैभन्दा कम मुद्रास्फीति आर्थिक वर्ष (आव) २०७४/७५ को साउन महीनामा रहेको थियो । त्यस महीनामा यस्तो मुद्रास्फीति दर २ दशमलव २९ प्रतिशत रहेको थियो ।  यो कोभिड–१९ का कारण तरकारीमा भएको महँगी घटेको र अन्य वस्तुको मूल्यवृद्धिसमेत कम भएकाले मुद्रास्फीति नियन्त्रणमा आएको हो ।

अहिले समग्रमा वार्षिक विन्दुगत उपभोग्य मूल्यवृद्धि नियन्त्रणमा देखिनुको कारण तरकारीको मूल्य कम हुनु पनि हो । तर, बजारमा घ्यूतेलको मूल्यवृद्धि नियन्त्रण हुन नसकेको केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको माघको तुलनामा २०७७ माघमा घ्यू तथा तेलको मूल्यवृद्धि १८ दशमलव ८४ प्रतिशत छ । गतवर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ३ दशमलव ७५ प्रतिशत थियो । यसैगरी माघमा फलफूलको मूल्यवृद्धि १८ प्रतिशत ८४ प्रतिशत, माछामासुको ८ प्रतिशत छ भने दाल तथा गेडागुडी र सुर्तीजन्य वस्तुको मूल्यवृद्धि १० दशमलव ४१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महीनामा काठमाडौं उपत्यकामा २ दशमलव १२ प्रतिशत, तराईमा २ दशमलव ७८ प्रतिशत र हिमालमा २ दशमलव शून्य ५ प्रतिशत मुद्रास्फीति हुँदा पहाडमा भने ३ दशमलव ३० प्रतिशत छ ।

पछिल्लो समय आयातमा सुधार भएकाले पनि तरकारीजस्ता वस्तुको महँगीमा नियन्त्रण आएको हो । गतवर्षको माघमा विदेशबाट वस्तु तथा सेवाको आयात खुम्चिएको थियो । विशेष गरेर सो अवधिमा चीनमा कोभिडको प्रभाव चरम भएकाले त्यस ठाउँबाट हुने आयात ठप्प थियो । नेपालमा पनि यसको प्रभाव पर्दा लामो समय आयात घटिरहेको थियो । माघदेखि भने थोरै भए पनि सुधार भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७७/७८ को ७ महीनामा कुल वस्तु आयात शून्य दशमलव शून्य १ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो आयात ३ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७ दशमलव १ प्रतिशतले बढेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव ४ प्रतिशत र १० दशमलव ८ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुजा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायत वस्तुको भने आयात घटेको छ ।

आयातको तुलनामा निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ । तर, वृद्धिदर गत आवको भन्दा कम छ । तथ्यांकअनुसार आव २०७७/७८ को ७ महीनामा कुल वस्तु निर्यात ७ दशमलव ६ प्रतिशतले बढेर रू. ६९ अर्ब ९२ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १० प्रतिशत र ४ दशमलव ९ प्रतिशतले निर्यात बढेको छ । तर, चीनतर्फको निर्यातमा ४७ दशमलव ७ प्रतिशतले कमी आएको छ । समग्रमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिस्टर तथा अन्य) लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायतको घटेको छ ।

आयात र निर्यातको यस्तो अवस्थाले त्यस अवधिमा कुल वस्तु व्यापारघाटा शून्य दशमलव ७ प्रतिशतले घटेर ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।

यसअघिका विप्रेषणको मासिक वृद्धि राम्रै भएकोमा अहिले कम देखिएको छ ।  गत पुसमा मात्रै करीब रू. ७८ अर्बको विप्रेषण भित्रिएकोमा माघमा ७२ अर्बमा सीमित भएको छ । चालू आवको अवधिसम्ममा कुल विप्रेषण आप्रवाह रू. ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।

देशभित्र भित्रिने रकमभन्दा बाहिरिने रकम बढेमा शोधनान्तरमा चाप पर्छ । यद्यपि, माघ महीनामा शोधनान्तर स्थिति रू. ९७ अर्ब ३६ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. २१ अर्ब ६१ करोडले बचतमा थियो ।

मासिक विप्रेषण आप्रवाह अपेक्षा गरेअनुसारको भएन । तर, आयात माघमा बढेकाले यस्तै अवस्था भोलि रहेमा शोधनान्तर बचतमा दबाब पर्न सक्ने राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । ‘समग्रमा समष्टिगत आर्थिक परिसूचक सन्तुलनमा छन् । आयात गतिविधि बढिरहेकाले आर्थिक गतिविधि बढेको संकेत गर्छ,’ उनले भने, ‘तर, आयात जुन गतिले बढ्छ, त्यसअनुसार विप्रेषण बढेन भने बाह्य क्षेत्रमा प्रभाव पर्न सक्छ । किनभने कर्जा वृद्धि बढिरहेको छ । पुसदेखि माघसम्म आउँदा शोधनान्तर बचत घटेको जस्तो देखिएकाले यो दबाब निरन्तर हुन सक्छ ।’

चालू आवको ४ महीनासम्म लगातार बचतमा रहेको चालू खाता यसपछि घाटामा रहँदै आएकोमा गत माघमा पनि १ खर्ब १ अर्ब ९० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६ अर्बले घाटामा थियो । विशेषगरी आयात घटेकाले चालू खाता घाटामा गएको डा. भट्टको तर्क छ । आव २०७७/७८ को ७ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महीनाको वस्तु आयात र ११.९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ । २०७७ माघ मसान्तमा यो रू. १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८ प्रतिशतले बढेर १२ अर्ब ५७ करोड पुगेको छ । तर बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने घटेको छ । २०७७ असार मसान्तमा रू. १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा शून्य दशमलव ७ प्रतिशतले घटेर रू. १ खर्ब ७४ अर्ब ५३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रू. १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५ प्रतिशतले वृद्धि भई रू.१२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्