कोभिड प्रभावित अर्थतन्त्र मौद्रिक नीतिको कारण पुरानै लयमा : गभर्नर अधिकारी



विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रको पुनरुत्थान अवस्था राम्रो रहेको भन्दै अधिकारीले ७ महीनामा ५७७ अर्ब कर्जा प्रवाह र ५ खर्ब निक्षेप संकलन भएको तथ्यांकले अर्थतन्त्र चलायमान रहेको पुष्टि हुने उल्लेख गरे ।

कोरोनाको शुरूको समयमा ऋण तिर्न, किस्ता कसरी बुझाउन उद्योगी, व्यवसायीलाई ठूलो तनाव भएको अवस्थामा राष्ट्र बैंकले निजीक्षेत्रको सहयोग तथा सल्लाहमा मौद्रिक नीति ल्याएर कार्यान्वयनमा समेत सफल भएको गभर्नर अधिकारीले बताए ।

सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ आकांक्षा पूरा गर्न राष्ट्रिय योजना आयोगले काम गरिरहेको भए पनि निजीक्षेत्र उद्योग वाणिज्य महासंघले उठाएको ‘भिजन ३०’ र नेपाल उद्योग परिसंघले अघिसारेको ‘मेक इन नेपाल’ जस्ता खाकाले आपूmहरूलाई त्यसतर्फ घच्घच्याइरहेको गभर्नर अधिकारीले बताए ।

विगतमा १६ प्रतिशत रहेको ब्याजदर अहिले ९ प्रतिशतमा रहेकाले बैंकिङ प्रणालीलाई भरपूर प्रयोग गरिदन निजीक्षेत्रलाई उनले आग्रह गरे । अहिले युवा उद्यमीहरूको प्रवेशले निजीक्षेत्रको काम गर्ने पुरानो शैलीमा समेत परिवर्तन आएको र युवाको प्रवेशले भ्रष्टाचारमा समेत कमी आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले प्रधानमन्त्रीले आफूलाई पटक पटक ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान कहाँ पुग्यो भनेर जिज्ञासा राख्ने गरेको भन्दै निजीक्षेत्रले सम्मान पाउन सके मात्र यो अभियानले सार्थक हुने बताए । आफूले पहिले एउटा उद्योगीको रूपमा मन्त्रालय धाउँदा, मन्त्री हुँदा र अहिले प्रधानमन्त्रीको सल्लाहकार हुँदा गरी सबै किसिमले निजीक्षेत्र र कर्मचारीतन्त्रलाई बुझ्ने मौका पाएकाले सोही बमोजिम प्रधानमन्त्रीलाई सल्लाह दिने गरेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कम ब्याजदर र तरलता व्यवस्थापन गर्न सकेकाले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्र तंग्रिन सकेको बताए । पर्यटन, साना मझौला व्यवसायीलाई अहिले पनि समस्या रहेकाले उनीहरूलाई पनि पुनर्कर्जामा समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले राष्ट्र बैंकले ल्याएको २० प्रतिशतको पुनर्कर्जा नीतिले निजीक्षेत्रको आँसु पुछ्ने काम गरे पनि थला परेको पर्यटन क्षेत्रलाई उकास्ने कार्यक्रम ल्याउन गभर्नरसँग आग्रह गरे । निजीक्षेत्रसँग विश्वासको वातावरण बनेमा मात्र मुलुक समृद्धितिर अघि बढ्ने उनको धारणा छ ।

नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष राजेश मल्लले नगद कारोबार प्रोत्साहनका लागि उधारो निरुत्साहन गर्न मौद्रिक नीतिमै व्यवस्था हुनुपर्ने माग उनले गरे । यस्तै उनले राष्ट्र बैंकले नै केही प्रतिशत छूट दिने व्यवस्था गरेर डिजिटल भुक्तानीलाई बढाउनुपर्नेमा जोड दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्