फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौ,चैत ३ । नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्