देशकै उत्कृष्ट बन्यो नुवाकोटको त्रिशुली अस्पताल



नुवाकोट,चैत ३ । जिल्लाको त्रिशुली अस्पताल देशकै अस्पतालमध्येको गुणस्तर सुधारमा उच्च अंक ल्याउने अस्पतालको रुपमा घोषणा भएको छ। न्युनतम मापदण्ड पुरा गर्ने अस्पतालमा त्रिशुली अस्पताल देशैभरीबाट पहिलो भएको हो । जस अन्तर्गत एक सय अंकमा त्रिशुली अस्पतालले ८८ अंक प्राप्त गरेको छ ।

यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्ड भन्दा सबैभन्दा धेरै हो । मंगलवार स्वास्थ्य निर्देशनालय हेटौडाद्वारा आयोजित कार्यक्रममा त्रिशुली अस्पताललाई स्वास्थ्य विभागले उत्कृष्ट घोषणा गरेको हो ।

पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको स्वास्थ्य विभागको सामाजिक सेवा महाशाखाका निर्देशक रोशनी तुईतुई बताए ।

भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो रहेको उहाँको भनाई रहेको छ । त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताएका छन् । स्वास्थ्य निर्देशनालय सोमवार त्रिशुली अस्पतालको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो ।

विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाडफाड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको छ । यो नुवाकोटको लागि गौरबको विषय रहेको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्