आफ्ना नेताले छाडेपछि गोइतद्वारा विस्फोट



सिरहा, चैत २ । जयकृष्ण गोइत नेतृत्वको भूमिगत समूहका नेता रामविलास यादवले आइतबार उक्त समूह छाडे। गोइतको ‘सेकेन्ड म्यान’ भनेर चिनिने यादव जिल्ला प्रशासन कार्यालय सिरहामा बिहान साढे १० बजे कानुनमन्त्री लीलानाथ श्रेष्ठको रोहवरमा सार्वजनिक भए। त्यसको केही घण्टामै लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा बम विस्फोट भयो।

घटनास्थलमा गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा च्यातिएको अवस्थामा भेटियो। पछि आफ्नो समूहले विस्फोट गराएको भन्दै गोइतले प्रेस विज्ञप्ति जारी गरेका छन्। तराईमा भ्रष्टाचारविरोधी अभियानअन्तर्गत विस्फोट गराएको गोइतको विज्ञप्तिमा उल्लेख छ।

सिरहाका एसपी सुदीपराज भण्डारीले सेवाग्राहीको भीडभाड हुने समयमा पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा विस्फोट भएको बताए। ‘सार्वजनिक हुने समूहकै पम्प्लेट घटनास्थलमा भेटिएको छ’, एसपी भण्डारीले भने, ‘त्यसको प्रतिक्रियास्वरूप उक्त समूहले नै विस्फोट गराएको हो कि भन्ने लागेको छ। हामीले अनुसन्धान तीव्र पारेका छौं।’

मालपोत कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले पहिले कुनै धम्की नआएको तर एक्कासि यस्तो घटना भएको बताए। विस्फोटमा सेवाग्राही दिनेश भण्डारी गम्भीर घाइते भएका छन्।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्