आपूर्ति शृंखला बिग्रिँदा बजारमा नयाँ गाडीको अभाव



काठमाडौं, चैत १ । केही वर्षदेखि घट्दै गएको निजी सवारीसाधनको माग कोरोनापछि ह्वात्तै बढेको छ । कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष चैतदेखि भएको बन्दाबन्दीका कारण अटोमोबाइलको विक्री असारसम्म शून्य रह्यो ।

बन्दाबन्दी खुकुलो भएपछि असारपछि दुईपांग्रे सवारीसाधनको माग तीन गुणासम्म बढे पनि चारपांग्रे सवारी विक्री सामान्य बन्न सकेको थिएन । तर, दशैंयता चारपांग्रे सवारीको माग पनि बढेको व्यवसायीहरू बताउँछन् ।

अनपेक्षित रूपमा निजी सवारीको माग बढेपछि मागअनुसार आपूर्ति शृंखला मिलाउन व्यवसायीलाई हम्मेहम्मे परेको छ । माग बढिरहँदा बजारमा भने नयाँ सवारीसाधनको अभाव देखिएको छ । अहिले ग्राहकले नयाँ सवारी खोजिरहे पनि व्यवसायीहरूले उपलब्ध गराउन सकेका छैनन् ।

नेपाल नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका सचिव अनुप बरालले पछिल्लो समय सवारीसाधनको माग बढेको तर मागअनुसार उपलब्ध गराउन नसकिएको बताए । नेपाली बजारमा चलेका ब्रान्ड सुजुकी, टाटा, महिन्द्रा, ह्युन्देलगायत सवारीको सर्टेज देखिएको उनको भनाइ छ । ‘माग छ तर डिलरमा गाडी छैनन्,’ उनले भने, ‘दुई महीनादेखि आपूर्ति भइरहेको छैन ।’

पछिल्लो समय नेपालमा सस्ता कमर्शिल गाडीको माग बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा १ हजार ३४० कमर्शिल गाडी नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । यद्यपि, माग भने योभन्दा उच्च भएको व्यवसायीको भनाइ रहेको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्