नुवाकोट पञ्‍चकन्याकी सनिता तितुङ तामाङ भइन् मिस फोटोजेनिक



नुवाकोट,फागुन २९ । पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँकी सनिता तितुङ तामाङले १३ औं मिस तामाङमा फोटोजेनिक भएकी छन् ।

विद्यालय जीवनबाटै नृत्यमा रुची राख्ने सनिताले फागुन २८ गते शुक्रबार बेलुकी काठमाडौंमा भएको मिस तामाङको फाइनल प्रतिस्पर्धामा फोटो जेनिकको उपाधि जितेकी हुन् । उनलाई ताम्सालिङ संघर्ष समितिका संयोजक जय गोले र पूर्वसभासद तीर्थ लामाले टाइटल पहिरिदिएकी हुन् ।

फोटो जेनिकको उपाधि जितिसकेपछि आफूलाई खुसी लागेको सनिताले प्रतिक्रिया जनाइन् । उनले मुख्य उपाधि जित्नका लागि पैसा हुनुपर्ने अनुभव भएको बताइन् । पैसा खर्च गरेर भोट बढाउन नसक्दा निकै ट्यालेन्टहरु पछि परेको उनको बुझाइ छ । २१ वर्षअघि घलेगाउँमा बाब रेशमबहादुर तामाङ र आमा फूलमाया तामाङको कोखबाट जन्मिएकी सनिता परिवारको माइली छोरी हुन् । म्यानेजमेन्ट विषय लिएर प्लस टु उत्तीर्ण गरेकी छन् ।

मिस तामाङ २०२१ को ताज भने काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन् । ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर १ सफलताले उपाधि हात पारेकी हुन् । ताज र विभिन्न टाइटलसहित सफलताले एक लाख रुपैयाँ नगद, गिफ्ट ह्याम्परका साथमा थाइल्यान्ड टुरको टिकट हात पारेकी छिन्।

नुवाकोटकी सोनिया वाइबा सेकेन्ड रनर अप भइन् । पेमाले नगद ५० हजार र सोनियाले ३० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगी सिसम दोङ लामा मिस पर्सनालिटी भइन् । एम डी ग्रुपको प्रस्तुतिमा भएको १३औँ संस्करणको प्रतियोगिता मम्स् इन्टरनेशनल नेपालको आयोजनामा भएको हो । कार्यक्रम तामाङ संस्कार र संस्कृति जगेर्ना गर्न आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रञ्जिता ब्लोन लामाले जनाइन्।

प्रतिक्रिया दिनुहोस्