नुवाकोटकी मिर्गौलापीडित साइँली तामाङका लागि संकलित ७ लाख ७४ हजार सहयोग रकम हस्तान्तरण



रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिद्वय पूर्व सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ

काठमाडौ,फागुन २९ । नुवाकोटको तादी गाउँपालिका ३ प्रभुडाँडाकी ४७ वर्षीया साइँली तामाङको नाममा देश, विदेशबाट संकलित ७ लाख ७४ हजार रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

काठमाडौंको सामाखुसीस्थित ग्लोबल क्याफेमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङबाट ७ लाख ७४ हजार ६ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग संकलनका लागि होमबहादुर तामाङको संयोजकत्वमा गठित ७ सदस्यीय मिर्गौलापीडित साइँली तामाङ बचाऔं अभियान समिति गठन गरिएको थियो ।

सहयोग समितिले फेसबुक, विभिन्न‍ सञ्‍चारमाध्यमबाट प्रचारप्रसार गरी संकलित रकम पहिलो चरणमा ७ लाख ३४ हजार ८ सय ५ रुपैयाँ संघीय सांसद तामाङले पीडित साइँलीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै दोस्रो चरणमा शनिबार नै कार्यक्रमका क्रममा संकलित र केही बेलायतबाट आएको गरी ३९ हजार ८ सय १० रुपैयाँ वाग्मती प्रदेशकी उपसभामुख तामाङमार्फत् हस्तान्तरण गरिएको हो ।

सहयोग संकलन विवरण समिति सदस्य सुनिल दोर्जे लामाले प्रस्तुत गरेका थिए भने कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका विनिता गुरुङले मर्मस्पर्शी प्रस्तुति राखेकी थिइन् ।

दुवै मिर्गौला फेल भएकी तामाङ विगत ३ वर्षदेखि काठमाडौंका विभिन्‍न अस्पतालमा उपचाररत छन् । हाल वीर अस्पतालमा हप्तामा दुई पटक डाइलाइसिस गरिरहेकी छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि र विशेष अतिथिद्वयले पीडित तामाङको स्वास्थ्यलाभको कामना र सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । त्यस्तै सहयोग अभियान समिति संयोजक होमबहादुर तामाङले आफूहरुले चालेको अभियानमा सहयोग गर्ने देश-विदेश सहयोगदाताहरुलाई धन्यवाद दिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमको भिडियो हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्