दोस्रो बजारमा चन्द्रागिरी हिल्सको एक महीना : २३ दिनको कारोबारमा निरन्तर मूल्य वृद्धि



काठमाडौं,फागुन २९ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर बढेको छ । हालसम्म २३ दिनको कारोबारमा कम्पनीको मूल्य निरन्तर बढेको हो । 

यो बीचमा बजार तल माथि भएपनि कम्पनीको शेयरमूल्यमा भने निरन्तर वृद्धि भएको हो । कारोबार खुला भएदेखिनै सूचीकृत २०८ कम्पनीमध्यकै सर्वाधिक खरीद चाप रहेकाले पनि कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भएको ब्रोकरहरुको भनाइ छ । 

सीमित संख्यामा शेयर भएको र कम्पनीप्रति आम नेपाली नागरिकको आकर्षणका कारण २३ दिनको कारोबार अवधिसम्म माग बमोजिम विक्री चाप नदेखिएको ब्रोकरहरु बताउँछन् । दोस्रो बजारमा शेयरको खरीद र विक्री बीचको सन्तुलन नै मूल्य निर्धारण गर्ने हुँदा चन्द्रागिरी हिल्सको शेयर खरीद चाप विक्री चापभन्दा बढी रहेकाले मूल्यमा निरन्तर वृद्धि भएको नेप्सेले जानकारी दिएको छ ।

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । पहिलो कारोबार दिन अन्तिम मूल्य रू. १६४ कायम भएको कम्पनीको २३औं दिनमा अन्तिम मूल्य रू. ८०४ कायम भएको छ । 

पहिलो कारोबार दिनको भन्दा प्रतिकित्ता रू. ६४० ले कम्पनीको मूल्य वृद्धि भएको छ । पछिल्लो समय सर्किट लेभलमै कम्पनीको शेयरमूल्य बढ्दै गएको छ । पछिल्लो एक साताको कारोबारलाई हेर्दा पनि कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढेको देखिन्छ । 

गत साताको अन्तिम कारोबार दिन फागुन २० गते बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ६०५ कायम भएको थियो । यो साता तीन दिन मात्र शेयर कारोबार हुँदा कम्पनीको शेयरमूल्य रू. १९९ ले बढेको छ । यो साता बजार भने तीन कारोबार दिन नै घटेको थियो ।

यस कम्पनीले चन्द्रागिरी नगरपालीका, थानकोट, काठमाडौंमा केबुलकार, होटल तथा रिसोर्ट र एम्बुजमेण्ट पार्क लगायतका परियोजना सञ्चालन गरिरहेको छ । आईपीओ जारी पश्चात सबै आवेदकलाई कम्पनीले केवलकारमा २५ प्रतिशत छूटको व्यवस्था समेत गरेको छ । यो सुविधा २०७८ माघ ४ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीमा संस्थापकतर्फ ८८ प्रतिशत, स्थानियमा २ प्रतिशत र आम सर्वसाधारणमा १० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार बराबरको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । हाल कम्पनीको कुल शेयरको मूल्य अर्थात कुल बजारपूँजीकरण रू. १२ अर्ब ३३ करोड ४० लाख ९१ हजार रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्