यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट गाउँखर्ककी रुकमाया



काठमाडौँ,फागुन २८ । नेपाली चेलीबेटीलाई एक महिलाले भारतमा पुर्याएर कोठी सञ्चालन गरेको तथ्य फेला परेको छ । नुवाकोट जिल्ला साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) ले नेपाली चेलीबेटीलाई भारत पुर्याएर वेश्यावृत्तिमा लगाउने गरेको तथ्य बाहिरिएको हो ।

प्रहरीले भारतमा कोठी सञ्चालन गरी मानव बेचबिखन अपराधमा संलग्न रहेर फरार रहेकी नुवाकोटको साविक गाउँखर्ककी रुकमाया (चमेली) लाई पक्राउ गरेको हो । अपराधमा संलग्न ती महिलाले सीता तामाङको उपनामले मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको खुलेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ ।

पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौँबाट लगेको र गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पुर्याएई बिक्री गरेको खुलेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।

त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्