मोटरसाइकलको ठक्करबाट बेलकोटगढीका श्रेष्ठको मृत्यु



नुवाकोट,फागुन २८ । गएराति नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

घटना लगत्तै ठक्कर दिने वा प्र ०२–०१९ प ६०७९ नम्बरको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्