घट्यो वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं,फागुन २८ । मुलुकको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता रकम घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २५ अर्ब ३१ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १५ करोड रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको ७ महीनामा रू. २८ अर्ब ४६ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

गत आवमा विभागले १५ ओटा देशको लगानी स्वीकृत गरेकोमा यस वर्ष १३ ओटा देशबाट आएको उक्त रकम बराबरको लगानी स्वीकृत गरेको हो । सो अवधिमा चीनबाट रू. १८ अर्ब १६ करोडको लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ७१ प्रतिशत हो । चिनियाँ लगानीकर्ताले विभिन्न १०५ ओटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गराएका हुन् । यी उद्योग स्थापनापछि ३ हजार ८१ जनाले रोजगारी पाउने जानकारी विभागमा गराइएको छ । पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा चीनबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आउने गरेको छ ।

विभागका महानिर्देशक जीवलाल भुसालले पछिल्ला केही वर्षयता चिनियाँ लगानी बढ्दै गएको बताए । उनले भने, ‘यस वर्ष कोरोना महामारीको समयमा पनि चीनबाट अघिल्लो वर्षको भन्दा बढी लगानी प्रतिबद्धता आएको छ ।’

केही रकमले प्रतिबद्धता घटे पनि कोरोना महामारीको असरका रूपमा यस वर्ष औद्योगिक लगानी प्रतिबद्धतामा खासै असर नगरेको उनले बताए ।

विभागका अनुसार गत आवको सोही अवधिमा चीनको रू. १७ अर्ब २९ करोड लगानी स्वीकृत भएको थियो । चीनले पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा लगानी प्रतिबद्धता गरेको विभागले बताएको छ ।

चीनपछि बढी स्वीकृत हुने लगानी भारतीय छ । यस अवधिमा रू. ३ अर्ब ८६ करोड भारतीय लगानी प्रतिबद्धता विभागले स्वीकृत गरेको छ । अघिल्लो आवको ७ महीनामा भारतीय लगानीकर्ताबाट रू. २ अर्ब ९३ करोडको लगानी प्रतिबद्धता आएको थियो ।

यसैगरी यस वर्ष तेस्रोमा इङल्यान्डबाट रू. ३ अर्ब, चौथोमा सिंगापुरबाट रू. १ अर्ब ६५ करोड र पाँचौंमा अमेरिकाबाट रू. १ अर्ब ५७ करोडको लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा मलेशिया, बेल्जियम, मेक्सिको, पोल्यान्ड, दक्षिण कोरिया, नेदरल्यान्ड र बेलायतबाट समेत औद्योगिक क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । विभागका महानिर्देशक भुसालका अनुसार यस अवधिमा पर्यटन, सूचना तथा सञ्चार र ऊर्जाक्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्