‘सवारीसाधनको आवागमन नखुल्दा भारतीय पर्यटक आएनन्’



विरगञ्ज, फागुन २७ । सरकारले सीमा नाकाबाट सवारीसाधनको आवागमन खुला नगर्दा भारतीय पर्यटकमा आधारित सीमावर्ती क्षेत्रको पर्यटकीय गतिविधि नराम्ररी प्रभावित भएको सरोकारका पक्षले बताएका छन् ।

होटेल तथा पर्यटन व्यवसायी संघ र पर्यटन पत्रकार संघ पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पर्यटन पुनरुउत्थानका लागि साझेदारी कार्यक्रमको घोषणासभाका सहभागीले यस्तो बताएका हुन् । कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय भारतीय पर्यटक नआएपछि थप समस्यामा परेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएको सीमाबाट सवारीसाधनको आवागमन अझै खोलिएको छैन ।

भारतीय सवारीसाधन आउजाउ हुन नसकेपछि भारतबाट भित्रिने पर्यटक घटेका छन् । यसले स्थानीय पर्यटकीय गतिविधि शून्यप्रायः हुन पुगेको व्यवसायीले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाको साझेदारीमा भएको कार्यक्रममा नगर प्रमुख विजयकुमार सरावगीले संघ सरकारको अव्यावहारिक नीति र निर्णयले वीरगञ्जको पर्यटन व्यवसायमा प्रतिकूल प्रभाव परेको बताए । नाकाबाट अन्य आवागमन सामान्य अवस्थाजस्तै भइसकेकाले सवारी प्रवेशमा रोक लगाउनुको औचित्य नभएको प्रमुख सरावगीको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्