सन् २०३० सम्ममा अर्थतन्त्र १०० खर्ब पुर्‍याउने महासंघको योजना



काठमाडौं,फागुन २७ । नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० भित्र नेपालको अर्थतन्त्र १ खर्ब डलर अर्थात् १०० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । महासंघको वर्तमान कार्यकारिणी समितिको १०० दिन पूरा भएको अवसरमा मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । महासंघले ‘राष्ट्रिय आर्थिक रुपान्तरणको मार्गचित्र २०३०’ नाम भिजन पेपर मार्फत यस्तो लक्ष्य लिएको हो । मंगलवार उक्त भिजन पेपरको मस्यौदा सार्वजनिक गरिएको छ । अन्तिम मार्गचित्र भने चैत मसान्तभित्र सार्वजनिक गर्ने गोल्छाले बताए । समृद्धिका लागि निजीक्षेत्र भन्ने नारा रहेको उक्त मार्गचित्र महासंघको कार्यकारिणी समितिबाट अनुमोदन भइसकेको छ । सातै प्रदेशका उद्योगीहरूको राय सुझाव लिएर उक्त मार्गचित्र तयार गरिएको बताइएको छ ।

विशेषगरी २०३० सम्म मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंकको बनाउने  मार्गचित्रमा उल्लेख छ । त्यसका लागि लगानी पनि वृद्धि गर्नुपर्ने बताइएको छ ।

यसका अलावा थप २२ लाखलाई रोजगारी दिइने लक्ष्य लिइएको पनि गोल्छाले बताए । हाल नेपालमा लगभग ७० लाखले रोजगारी पाएका छन्  । त्यसमा २०३० सम्म थप २२ लाखलाई रोजगारी दिने महासंघको लक्ष्य छ ।

यस्तै, सन् २०३० सम्ममा अन्तरराष्ट्रिय व्यापारमा निर्यात हिस्सा बढाउने मार्गचित्रमा उल्लेख छ । अहिले वैदेशिक व्यापारमा निर्यात हिस्सा ८ प्रतिशत छ । २०३० सम्म त्यो २० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । साथै, नेपालमा उत्पादन सम्भव भएका वस्तुको उत्पादनमा वृद्धि गरी आयात नै प्रतिस्थापन गर्दै जाने महासंघको लक्ष्य छ ।

मार्गचित्रमा १० प्राथमिकता प्राप्त क्षेत्र पनि तोकिएका छन् । त्यसमा कोरोना प्रभावित उद्योग–व्यवसायको पुनरुत्थान, नीतिगत सुधार, सहज र प्रतिस्पर्धी व्यापारिक वातावरण निर्माण रहेको छ । साथै, लगानी प्रवद्र्धन, अन्तरराष्ट्रिय व्यापारमा सुधार तथा निर्यात वृद्धि, साना तथा मझौला उद्योग र स्टार्टअपको विकास समेटिएको छ । यसैगरी व्यवसायको लागत न्यूनीकरण, पूर्वाधार विकास, नलेज बेस्ड इकोनोमी, श्रम व्यवस्थापन र क्षमता विकास, मुलुकको समृद्धिप्रति जिम्मेवार निजीक्षेत्र रहेको मार्गचित्रमा उल्लेख छ । यसभित्र पनि १०० कार्यक्रम छन् । त्यसमध्ये ४१ कार्यक्रम यही आर्थिक वर्षभित्र शुरु गर्न सकिने गोल्छाले बताए ।

कोभिडको चुनौतीपूर्ण समय मार्गचित्र ल्याउन लागिएको महासंघ अध्यक्ष गोल्छाले बताए । उक्त मार्गचित्र कार्यान्वयन गर्न महासंघले छुट्टै इकाइ बनाउने बताइएको छ । उक्त मार्गचित्रले नेपाललाई आत्मनिर्भर बनाउने र समृद्धितर्फ लैजान सहयोग पुग्ने महासंघको विश्वास छ ।

समृद्धिका विषयमा विदेशी मुलुकमा भएका अभ्यासलाई हेरेर अर्थतन्त्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा गोल्छाले जोड दिए । मार्गचित्रमा नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने विषय समेटिएको छ । यस्तै, औद्योगिक क्षेत्रमा भएका समस्या समाधान गर्ने, नाफामा आधारित कृषिमा पनि जोड दिएको छ ।

यसैगरी अर्थतन्त्रको विकासमा विदेशी मुलुकले गरेको अभ्याससम्बन्धी विषय मार्गचित्रमा उल्लेख गरिएको गोल्छाले जानकारी दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्