मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार



काठमाडौँ,फागुन २६ । नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गरेका हुन । त्यस क्रममा बाइडेनले यसपालिको सम्मान पाउनेहरूका फरक फरक कथा रहेको बताए ।

तर सबै फरक पृष्ठभूमिका भए पनि भयरहित भएर काम अगाडि बढेका परीजस्तै रहेको उनले सुनाए । नेपालबाट मुस्कान र नेपालका प्रधानमन्त्री तथा अन्य उच्च नेतृत्वले भिडियो सन्देशमार्फत सम्मानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सो पुरस्कारबाट नेपाली चेली मुस्कानलाई सम्मान गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारको सराहना गरे । उनले भने, “एसिड आक्रमणको पीडालाई सङ्घर्षमा बदल्दै सो पुरस्कारबाट सम्मानित भएकी हाम्री छोरी मुस्कानलाई सरकार र सम्पूर्ण जनताको तर्फबाट बधाई ज्ञापन गर्दछु ।” तेजाब आक्रमण जस्तो जघन्य अपराध बेलैमा नियन्त्रण गर्न नसके यसले भयावह रूप लिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यसविरुद्ध कानुन ल्याउन सघाएकाहरूको सराहना गरे ।

नेपालले तेजाब आक्रमणमा कठोर सजाय र बिक्री वितरणमा समेत कडाइ गरेको जानकारी दिए । पीडितलाई स्वास्थ्य उपचारदेखि उनीहरूको पुनस्र्थापनाको व्यवस्था कानुनमा गरिएको जानकारी उनले दिए । नेपाल सरकार कानुनको पूर्णपालनामार्फत जघन्य अपराधको नियन्त्रणमा क्रियाशील रहेको भन्दै मुस्कानको सफलताले हौसला मिलेको सुनाए ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिकनले महिला भएकै कारण उनीहरूले कामका क्रममा र अन्य गतिविधिका क्रममा विभिन्न खालको विभेद भोग्नु नपरोस् भनेर आफ्नो पीडालाई दबाउँदै हिम्मत देखाउने महिला र किशोरीलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिएको बताए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कानको सफलताप्रति खुसी व्यक्त गर्दै अमेरिकी सरकारलाई सम्मानका लागि धन्यवाद दिए । उनले नेपाल सरकारले तेजाब आक्रमणविरुद्ध ल्याएको अध्यादेशलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्कानको साहसको सराहना गर्दै नेपालकी छोरीले अमेरिकी सरकारबाट सम्मान पाउनु गर्वको कुरा रहेको उल्लेख गरे। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेजाब आक्रमणमा परेर पनि साहस देखाउने मुस्कान खातुनको प्रयासले अन्य महिला र किशोरीलाई प्रेरणा दिएको बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले यस सम्मानले नेपाल र नेपाली जनता सम्मानित भएको महसुस भएको जानकारी गराए ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले १४ वर्षको किशोर वयमा तेजाब आक्रमणमा पर्नुभएकी मुस्कान खातुनको त्यसपछिको लडाइँ निकै सङ्घर्षपूर्ण रहेको औँल्याए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले ल्याएको तेजाब आक्रमणविरुद्धको अध्यादेशले सकारात्मक प्रभाव पारेको बताए । महान्यायाधिवक्ता अग्नि खरेलले मुस्कानको कदर गर्दै सरकारले ल्याएको अध्यादेशको पालना गर्ने उल्लेख गरे ।

पुरस्कृत मुस्कान खातुनले यति पीडाका बाबजुद पनि तीन करोड नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगका कारण यो सम्मान पाउने अवसर मिलेको सुनाए । यही सम्मानमार्फत नेपाललाई विश्वभर चिनाउन पाएकोमा उनले खुसी व्यक्त गरे । सबै बालबालिका र महिलामा हुने हिंसाविरुद्धको आवाज बन्ने सपना रहेको उल्लेख गरे। उनले भने, “यस्ता अपराधविरुद्ध लुकेर बस्ने हैन अगाडि बढ्न चाहन्छु, मेरो गल्ती छ र सानो कोठामा लुकेर बस्नु।” यस्ता घटनाले आफ्नो अनुहारमा सानो दाग होला तर यसले जीवनको सपना र ओठको मुस्कान खोस्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्