बंगलादेशबाट २५ सय मेट्रिकटन मल वीरगञ्ज आइपुग्यो



काठमाडौं,फागुन २६ । नेपाल सरकारले बंगलादेशबाट ‘जीटुजी’ प्रक्रियामार्फत किनेको ५० हजार मेट्रिकटन (मेटन) युरिया मलमध्ये २५ सय मेटन मल वीरगञ्ज आइपुगेको छ । पहिलो लटमा बंगलादेश सरकारले नेपाललाई उपलब्ध गराएको २२ हजार ५ सय मेटन युरिया मल १ साताअघि मात्रै कोलकाता बन्दरगाहमा आइपुगेको थियो । यसमध्ये २५ सय मेटन मल मंगलवार बेलुका वीरगञ्ज आइपुगको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

उनका अनुसार मंगलवार नै विराटनगर नाकाबाट समेत ६ ओटा ट्रकमार्फत २ सय मेटन मल विराटनगर आएको छ । विभिन्न चरणमा भित्रिरहेको मल अबको केही दिनमै कृषि सामग्रीका विभिन्न केन्द्रमा विक्रीका लागि पठाइनेछ । बंगलादेश सरकारले मल ढुवानीकर्ता कम्पनी जेन ट्रेड एफजेडएफलाई तीन चरणमा मल उपलब्ध गराउने भएको छ । त्यसमध्ये पहिलो चरणमा कोलकाता आइपुगेको २२ हजार ५ सय मेटन मलमध्ये २५ सय मेटन नेपाल आइसकेको छ । दोस्रो चरणको १० हजार मेटन मलको आयात प्रक्रिया शुरू भइसकेको र तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीख पछि मात्रै आयात हुने बताइएको छ ।

कृषि सामग्रीले बंगलादेशबाट किनेर ल्याउन लागेको बाहेक अरू १० हजार मेटन डीएपी मल कोलकाता बन्दरगाह आइपुगेको छ भने १० हजार मेटन डीएपीसमेत बाटोमा रहेको कम्पनीले बताएको छ । कम्पनीसँग यति बेला ३८ हजार मेटन डीएपी, १० हजार मेटन युरिया र ६ हजार ५ सय मेटन पोटास मौज्दात रहेको छ ।

हालको मौज्दातको अवस्थाअनुसार अब शुरू हुने चैतेधानको रोपाइँ र त्यसपछिको वर्षेधानका लागि समेत मलको अभाव नहुने पोखरेलको भनाइ छ । गत वैशाखमा ५० हजार मेटन युरिया मल किन्ने ठेक्का पाएका दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयातमा बदमासी गरेर मल आयात नगर्दा सरकारले बंगलादेश सरकारसँग पैंचोमा मल ल्याउने सहमति गरेको थियो । तर, अन्तिम समयमा उक्त सहमति कार्यान्वयन हुन नसक्दा नेपालको कृषि सामग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच गत पुस २ गते जीटुजी प्रक्रियामार्फत मल किन्ने सम्झौता भएको थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्