‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू



विकसित राष्ट्र निर्माणमा महत्त्वपूर्ण कदम : प्रधानमन्त्री

काठमाडौं,फागुन २५ । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यसहित नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको छ । सोमवार उक्त अभियानको शुभारम्भ तथा लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताउनुभएको छ ।

सरकारले शुरू गर्नुपर्ने अभियान निजीक्षेत्रबाट भएको र यसलाई सरकारले आफ्नै अभियानका रूपमा लिएको उहाँको भनाइ छ । समृद्ध राष्ट्र निर्माणमा नयाँ अठोटका रूपमा आएको यस अभियानले औद्योगिकीकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा उहाँको थियो ।

स्वदेशी उत्पादनको वृद्धि, स्वदेशमै प्रयोग, ब्रान्ड तथा गुणस्तर प्रवर्द्धन र प्रतिस्पर्धी बनाउने दिशामा अभियान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । ‘औद्योगिक क्षेत्रमा भन्दा कृषिक्षेत्रमा बढी रोजगारी छ, तर त्यहाँ उद्योग छैनन्,’ उहाँले भन्नुभयो, ‘कृषिमा आधारित उद्योग र त्यसका सहायक उत्पादनहरू नभएकाले त्यस दिशामा पनि ध्यान दिनुपर्छ ।’ आयातलाई सरकारले प्रोत्साहन नगर्ने भन्दै उहाँले कच्चा पदार्थ र अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु आयातलाई प्रतिस्थापन गर्नेतर्पm नेपालको औद्योगिक क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो । ‘यो अभियान वस्तुहरूको विज्ञापनका लागि मात्रै नहोस्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय उत्पादनलाई बढाएर निर्यात गर्नेतर्पm अभियान केन्द्रित होस्, सरकारले सहयोग र सहकार्य गर्नेछ ।’

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार निजीक्षेत्रबीच मित्रवत् सहकार्य भएमा उद्योग क्षेत्र, रोजगारी सृजना, शीप सिकाइलगायत सहुलियतका विषयमा हुने समस्या समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले यस अभियानले स्वदेशी उत्पादन वृद्धि, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन गर्ने र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्य राखेको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रपछि सेवाक्षेत्रको अंश बढी भए पनि सेवाक्षेत्रको योगदान दिगो नहुने भन्दै उनले औद्योगिकीकरण र व्यवसायीकरणमा उल्लेख्य ध्यान दिन आवश्यक भएको उनको भनाइ छ । ‘यस अभियानलाई सघाउने गरी सरकारले राष्ट्रिय योजना तथा रणनीति बनाउनु आवश्यक छ,’ मोरले भने, ‘स्वदेशी वस्तुको उत्पादन, खपत, र ब्रान्डिङमा अभियानले काम शुरू गर्नेछ ।’

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार तथा अर्थविद् विश्व पौडेलले अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै मुलुकको आर्थिक वृद्धि दरलाई दिगो बनाउन औद्योगिकीकरण नै प्रमुख भएको बताए । ५ वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र सन् २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने गरी अभियानले काम गर्ने दाबी उनले गरे ।

कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले स्वदेशी वस्तुको उत्पादन, उपभोग र विदेशमा रहेका नेपालीहरूका लागि स्वदेशी ब्रान्ड उपयोगको जागरण प्रारम्भ भएको बताए । यसमा सरकार र निजीक्षेत्रका साथै आम सर्वसाधारणबीच सहकार्यको भावना जरुरी भएको भन्दै उनले यसलाई अवसरको रूपमा उपयोग गर्न हातेमालो जरुरी भएको उल्लेख गरे । परिसंघले हरेक वर्ष १ हजार उद्योग सञ्चालनमा ल्याउने र वार्षिक रूपमा १ लाख ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेर यो अभियान शुरू गरेको हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्