नुवाकोटको शिवपुरीमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न



नुवाकोट ,फागुन २४ ।  १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्लाको शिवपुरी गाउँपालिकाको सेराबगरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन मनाउने कार्यक्रम अन्तर्गत कार्यक्रमको आयोजना गरिएको शिवपुरी गाउँपालिका कार्यालय सेराबगरले जनाएको छ ।

शिवपुरी गाउँपालिका महिला संजालकी अध्यक्ष सीता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा जानकी माध्यमिक विद्यालय सिलामेकी कृष्टिना परियार प्रथम, स्याउरेभूमे माद्यामिक विद्यालयकी दिव्या पौडेल दोस्रो र समुन्द्रा माध्यमिक विद्यालयकी सलिना बुढाथोकी तेस्रो बनेकी छ्न। शिवपुरी गाउँपालिका सेवा क्षेत्रका कक्षा १२ सम्म संचालित ६ वटा माध्यमिक विद्यालयबाट १/१ जना गरि जम्मा ६ जना प्रतियोगी सहभागी थिए ।

सो समारोहमा शिवपुरी गाउँपालिकाका महिला संजाल पदाधिकारीहरु, गाउँपालिकाकी उपाध्यक्ष मन्जु केसी,नेकपा नुवाकोटका नेता तथा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी, नेता पदम उप्रेती, जितेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै पूर्व सांसद लोहनीले महिला हक अधिकार सुनिश्चितताका लागि महिलाहरु नै एकजुट हुनुपर्ने बताए। त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष मन्जु केसीले महिला सशक्तीकरणका निम्ति भए गरेका उपलब्धिकाे सदुपयाेग गरि महिलाहरुलाई अायअार्जन गर्ने अवसर सिर्जना गर्नुपर्ने बताए।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ  । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका थिए ।

महिला दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्