कोरोना खोप : नेपाल आइपुग्यो थप साढे तीन लाख डोज



काठमाडौं,फागुन २४ । नेपालमा थप साढे ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आइतवार कोभ्याक्स सुविधाको पहिलो चरणअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि नेपालमा भारतीय अनुदानमा भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिडशिल्ड खोप प्रयोगमा आइरहेको छ । अनुदानमा भारतले १० लाख डोज खोप दिएको थियो । त्यसपछि नेपालले सिरमसँगै २० लाख डोज खोप किनेको थियो, जसमध्ये आधा खोप आउन बाँकी छ ।

कोभ्याक्स सुविधामा आएको खोप सिरमले नै उत्पादन गरेको कोभिडशिल्ड खोप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोभ्याक्सअन्तर्गत नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप आउने भए पनि पहिलो चरणमा करीब साढे ३ लाख डोज मात्र आएको उनले बताए । ‘चरणबद्ध रूपमा सबै खोप आउँछ,’ उनले भने, ‘चीनले अनुदानमा दिने भनेको ८ लाख डोज खोप पनि आउने क्रममा छ ।’ उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्सअन्तर्गत करीब ६० लाख डोज खोप नेपाल आउनेछ । डब्लूएचओले कोभिड महामारीपछि रोग नियन्त्रणका लागि गरीब मुलुकहरूमा जनसंख्याको २० प्रतिशत कोभिड भ्याक्सिन (को–भ्याक्स) खोप अनुदानमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइतवारदेखि सरकारले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ । स्वास्थ्य क्षेत्रमा खटिएका फ्रन्टलाइनर, सुरक्षाकर्मी, कूटनीतिक नियोगका कर्मचारी, सरकारी कर्मचारी र पत्रकारहरूपछि सरकारले २३ गतेदेखि सर्वसाधारणलाई खोप लगाउन शुरू गर्ने निर्णय गरेको थियो । खोप अभावका कारण यस चरणको अभियानमा आइतवारदेखि ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

आइतवार ज्येष्ठ नागरिकलाई खोप लगाउन शुरू गरिएपछि यस अभियानको पहिलो खोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन । श्रीमती राधिका शाक्यसहित त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले श्रीमती शाक्यसहित खोप लगाएका हुन । खोप लगाएपछि उनले छोटो प्रतिक्रिया दिँदै खोपले आफुलाई कुनै समस्या नदेखिएको बताए । उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्